मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष चौथी नेपाल संवत् ११३० मुद्रण संस्करण

देश»

तीन महिनापछि प्रहरी चासो

जनक नेपाल

नेपालगन्ज, २०६६ कार्तिक २१ - त्रिभुवनचोकका व्यापारी गौरवकृष्ण रस्तोगीको अपहरण भएको साढे तीन महिनापछि प्रहरीले अनुसन्धानमा चासो देखाएको छ । प्रहरीको केन्द्रीय अपराध अनुसन्धान विभाग र मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले छुट्टाछुट्टै टोली  गठन गरेर अनुसन्धान थालेका हुन् । 

अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक विजयकुमार भट्ट र निरीक्षक श्याम तामाङ अनुसन्धानमा खटिएका छन् । त्यस्तै क्षेत्रीय प्रहरीले निरीक्षक काजीकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरेको छ ।  बाँके प्रहरीले अपहरणमा संलग्न गिरोह हेटौंडा र काठमाडौं वरपर रहेकाले पक्राउ गर्न कठिनाइ भएको बताएपछि ती टोली बनाइएको प्रहरी स्रोतको दाबी छ । 'जिल्ला प्रहरीलाई त्यहाँसम्म पुग्न गाह्रो परेको थियो,' बाँके प्रहरी उपरीक्षक  मिग्मार लामाले भने, 'केन्द्रीय विभागको टोलीबाट सजिलो हुने ठानेका छौं ।'

अपहरणकारी गिरोहमा काठमाडौं र हेटौंडाका व्यक्तिहरू संलग्न रहेको निष्कर्षपछि अनुसन्धान सहज पार्न अपराध अनुसन्धान विभागले टोली गठन गरेको हो । पीडित परिवारले गृहमन्त्री भीम रावल नेपालगन्ज आउँदा भेटेर प्रहरीको  अनुसन्धानप्रति असन्तुष्टि व्यक्त गरेका थिए । २२ वषर्ीय एक्लो छोराको सकुशल मुक्तिका लागि बुबा कृष्णमुरारीले गृहमन्त्री रावलसँग पटक पटक आग्रह गरेका थिए । गृहमन्त्रीकै निर्देशनमा अनुसन्धानले तीव्रता पाएको प्रहरीस्रोतले बताएको  छ ।

'पीडित र आफन्तलाई भेट्यौं,' बिहीबार काठमाडौं फर्केका उपरीक्षक भट्टले कान्तिपुरसित भने, 'प्राप्त सूचनाका आधारमा अनुसन्धान अघि बढाएका छौं ।' अपहरणको सुरुमै प्रहरीलाई जानकारी नगराएकाले अपराधीसम्म पुग्न कठिनाइ  भइरहेको उनले बताए ।

रस्तोगी असार ७ गते अपहरणमा परेका हुन् । सात लाख फिरौती रकम बुझाउँदासमेत अपहरित मुक्त नभएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । अपहरणकारीले रस्तोगी परिवारबाट सुरुमा चार करोड फिरौती मागेका थिए । बागेर् निङ गरी सात लाख दिने सहमतिपछि बुबा कृष्णमुरारीले हेटौंडा पुगेर फिरौती बुझाएका थिए । फिरौती लगेपछि अपहरितलाई मुक्त गर्नुको सट्टा अपहरणकारीहरूले कुनै सम्र्पक नगरेको कष्णमुरारीले बताए । अपहरणकारीले प्रयोग गर्ने मो बाइल स्विच अफ छन् । रस्तौगीको त्रिभुवन चोकस्थित गौरव इन्टरप्राइजेज र सीमावर्ती भारतीय रुपैडिया बजारमा रस्तोगी ब्रदर्श पसल छन् । रुपैडियाबाट नेपालगन्ज फर्किने क्रममा सुर्खेतरोडबाट मोटरसाइकल सहित उनी अपहरणमा  परेका हुन् ।

अपहरणकारीले प्रयोग गरेको मोबाइल फोनका आधारमा प्रहरीले अनुसन्धानअघि बढाएको स्रोतको दाबी छ । 'स्थानीय र आफन्तबाट पनि केही नयाँ कुरा आएका छन्,' उपरीक्षक भट्टले भने । मध्यपश्चिम क्षेत्रीय प्रहरीका डीआईजी  दिनकरशमसेर जबराले छुट्टाछुट्टै प्रहरी टोलीबाट हुने अनुसन्धानले छिट्टै निष्कर्षमा पुग्ने आशा व्यक्त गरे ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console