क्षेत्रीय»
महिलालाई नेतृत्वदायी बनाउन सुझाव
काठमाडौं, २०६६ कार्तिक २१ - न्याय क्षेत्रमा महिलालाई नेतृत्वदायी भूमिका स्थापित गर्नुपर्ने सुझाव कानुन व्यवसायीहरूको एक अध्ययन प्रतिवेदनले दिएको छ । कानुन व्यवसाय र संविधान निर्माण प्रक्रियामा महिला सहभागिता अभिवृद्धिसम्बन्धी शुक्रबार सावर् जनिक प्रतिवेदनमा संविधानसभासहित विभिन्न निकायमा महिला भूमिका बढाउन पहल गर्नुपर्ने भनिएको छ ।
नेपाल र क्यानेडियन बार एसोसिएसनले संयुक्त रूपमा तयार गरेको 'समानताको ध्वनि गुन्जाउँदै' नामक प्रतिवेदनलाई संविधानसभा उपाध्यक्ष पूणर्ाकुमारी सुवेदीले सार्वजनिक गरेकी हुन् । प्रतिवेदनले ६७ जिल्लाका एक हजार ८६ सहभागीका सुझावलाई समेटेको छ । बारमा मात्र नभई संविधानसभा, सरकार, कानुनका कलेज, बार काउन्सीललगायतमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्ने सुझाव पनि छ ।
सार्वजनिक कार्यक्रममा नेपाल बार कोषाध्यक्ष सविता भण्डारी बरालले महिला र पुरुषको बराबरी योगदानबाट नै लैंगिक समानता कायम गर्न सकिने बताइन् । महासचिव रमणकुमार श्रेष्ठले प्रतिवेदनले औंल्याएका सुझावहरूलाई व्यवहारमा उतार्नुपर्ने खाँचो औंल्याए ।












