समाचार»
'गणराज्य घोषणा अर्को चरणमा'
पर्सा, २०६६ कार्तिक २१ - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनअन्तर्गतको स्वायत्त गणराज्य घोषणा कार्यक्रम कसैको दबाबमा परेर फिर्ता नलिएको जिकिर गरेका छन् ।
भ्रातृ संगठन मधेसी मुक्तिमोर्चा क्रान्तिकारीको सुरु राष्ट्रिय एकता सम्मेलनको शनिबार उद्घाटन गर्दै दाहालले केही तयारी नपुगेकाले अर्को चरणमा स्वायत्त गणराज्य र स्वायत्त सरकार घोषणा गर्ने उद्देश्यले मात्र फिर्ता लिएको बताए ।
उनले पटकपटक माओवादी मात्र मधेसीको सच्चा हितैषी भएको र आफूहरू पहाडीया भएर पनि पहाडेवादको विरोध गरिरहेको बताए । मधेसका नाममा खुलेका नयाँ पार्टीहरूलाई उनले च्याउ र पानी माथिको फोकाको संज्ञा दिए ।
दाहालले भारतलाई नाम नलिइकनै र कांग्रेस तथा एमालेलाई नामै किटेर गालीसमेत गरे । वर्तमान सरकारका मन्त्रीहरूले माओवादीविरुद्ध सेना लगाइदिने धम्की दिइरहेको भन्दै उनले नेपाली सेनालाई कसैले 'आफ्नो बाउको बिर्ता नसम्झन' चेतावनी दिए । 'नेपाली सेना तिनको बाउको बिर्ता हो कि नोकर हो,' उनले भने । 'विगतमा ज्ञानेन्द्रले पनि नेपाली जनताविरुद्ध सेना लगाएकोमा उनलाई जनताले सबक सिकाएको' उनले कुनै पनि मुलुकको इतिहास बन्दुक र सेनाले नभई जनताले लेख्ने बताए ।
संयुक्त राष्ट्रसंघले नेपालको शान्ति प्रक्रियालाई सफल पार्न राष्ट्रिय एकता र सहमतिको सरकार बन्नुपर्छ भन्दा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नहुने दाहालको भनाइ थियो । 'शान्ति प्रक्रिया समाप्त पार्ने उद्देश्यले जसले माओवादी नेतृत्वको सरकार गिराउन फोरमजस्तो पार्टीलाई पैसाको खोलो बगाएर फुटाउँछ, अनि हारेका मान्छेहरूलाई प्रधानमन्त्री बनाउँछ त्यसलाई हस्तक्षेप भनिन्छ,' उनले भने, 'यसैलाई 'जो चोर उसको ठूलो स्वर, उल्टा चोर कोतवालको डाँटे भनिन्छ ।'
'उपेन्द्र यादवले माओवादीलाई समर्थन गर्दै आएकाले अहिले उनलाई सबै जुक्ति लगाएर वर्तमान सरकारमा सामेल गराउन अथक प्रयास भइरहेको' उनले उल्लेख गरे । त्यसो नगरे फोरम फेरि टुक्र्याउने धम्की समेत दिइएको उनको भनाइ थियो । 'त्यसो भइहाले पनि माओवादी विचलित नहुने' उनले बताए ।
उनले यहाँ पनि यो सरकारलाई हरुवाहरूको भन्न चुकेनन् । हिजोका प्रधानमन्त्रीहरूका लाममा आफू बस्न तयार नरहेको उनले घोषणा गरे । समारोहमा शुभकामना मन्तव्य दिँदै तराई मधेस लोकतान्त्रिक पार्टीका सह महासचिव जितेन्द्र सोनल र मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य लालबाबु राउतले मधेसीलाई अधिकार सम्पन्न बनाउन प्रचण्डलाई विशेष भूमिका खेल्न आग्रह गरेका थिए ।
माओवादी वरिष्ठ नेताहरू न्ाारायणकाजी श्रेष्ठ, सीपी गजुरेल, गिरिराजमणि पोखरेललगायतका नेताहरू समारोहमा उपस्थित भए पनि उनीहरूले भने सम्बोधन गरेनन् ।












