समाचार»
विज्ञ समूहद्वारा अध्ययन सुरु
काठमाडौं, २०६६ कार्तिक २१ - जलवायु परिवर्तन परिषद विज्ञ समूहले जलवायु परिवर्तनले मुलुकमा पारेको असर र त्यसबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकषिर्त गर्न प्रस्तुत गरिने विषयवस्तुको तथ्यांक संकलन सुरु गरेको छ ।
गत साताको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा गठित जलवायु परिषदमा ८ जना विज्ञ सहभागी गराउने निर्णय गरेको थियो । १६ सदस्यीय जलवायु परिवर्तन परिषद अब २४ सदस्यीय भएको छ । यसअघि परिषदमा प्रधानमन्त्रीसहित मन्त्रीहरू, योजना आयोगका उपाध्यक्ष र वातावरण मन्त्रालयका सचिवलगायत सदस्य थिए । 'हामीले काम थाल्यौं,' विज्ञहरूका तर्फबाट परिषदमा सहभागी गराइएका जलवायु परिवर्तनका जानकार अरुण रिजालले बिहीबार कान्तिपुरसित भने, 'जलवायु परिवर्तनले पारेका असर र हामीजस्ता मुलुकमा पार्न सक्ने सम्भावित खतराबारे अध्ययन गरिनेछ ।'
समूहले नेपालको हिमालय क्षेत्र, हिमताल, हिमनदीलगायतमा जलवायु परिवर्तनले पारेको असरबारे अध्ययन गरी सरकारलाई मार्गदर्शन गर्नेछ ।
'विज्ञहरूका सुझाव हाम्रा लागि महत्त्वपूर्ण हुन्छन्,' वातावरणमन्त्री ठाकुरप्रसाद शर्माले भने, 'उहाँहरूको सुझावले कोपनहेगन सम्मेलनमा हाम्रो अवस्था प्रस्ट पार्न पनि मदत पुर्याउनेछ ।' परिषदमा विज्ञहरूका तर्फबाट त्रिभुवन विश्वविद्यालयका सुरेशदास श्रेष्ठ र मदन कोइराला, वातावरण बचाऊ अभियानका अभियानकर्ता बद्री खतिवडा, वातावरणविद भुषण तुलाधर, प्रेम दंगाल, क्लिन इनर्जी बैंकका अध्यक्ष धनञ्जय आचार्य, सगरमाथा आरोही दावा स्टेभन शेर्पा र जलवायु परिवर्तनका जानकार रिजाललाई सहभागी गराइएको थियो ।












