मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

मुख्य समाचार»

माथिल्लो मस्र्याङदीमा चिनियाँ कम्पनी

विकास थापा
प्रतियुनिट ५.९९५ अमेरिकी सेन्टमा खरिद गर्ने सहमति

काठमाडौं, २०६६ कार्तिक २१ - विद्युत् प्राधिकरणले चिनियाँ लगानीमा निर्माण हुने माथिल्लो मस्र्याङदी -५० मेगावाट) को बिजुली खरिद गर्न सहमत भएको छ । निर्माता कम्पनीले यही वर्षको हिउँददेखि निर्माण कार्य थाल्ने जनाएको छ ।

चिनियाँ सरकारी कम्पनीले नेपालको जलविद्युत्मा लगानी गर्न लागेको यो पहिलो हो । माथिल्लो मस्र्याङदीको अनुमानित लागत १३ करोड ८० लाख अमेरिकी डलर छ ।

प्राधिकरण र चिनियाँ नेपाली साझेदार कम्पनीबीच प्रतियुनिट ५ दशमलव ९९५ अमेरिकी सेन्टमा बिजुली खरिद गर्न सहमति भएको हो । विद्युत् खरिद सम्झौता -पीपीए) भएपछि सरकारबाट बल्ल उत्पादन अनुमति पत्र  पाउने प्रावधान  छ । नेपालको सगरमाथा पावर कम्पनी र चीनको सिनो हाइड्रो मिलेर यो आयोजना बनाउन लागेका हुन् । चिनियाँ कम्पनीको ९० र नेपाली साझेदारको १० प्रतिशत सेयर छ ।

यो सहमतिले नेपालको जलविद्युत्मा अन्तर्राष्ट्रिय लगानी आकषिर्त गर्न थप मद्दत पुर्‍याउनेछ । खिम्ती र भोटेकोसीपछि नेपालको जलविद्युत्मा अन्तर्राष्ट्रिय कम्पनीका लगानी ठप्प छ । प्राधिकरणले खरिद गर्न मञ्जुर गरेको माथिल्लो मस्यार् ङदीको बिजुली खिम्ती र भोटेकोसीभन्दा सस्तो हो । खिम्ती र भोटेकोसी दुवैको बिजुली यतिखेर औसतमा ९ अमेरिकी सेन्ट्स छ ।

प्राधिकरण र चीनको सिनो हाइड्रो तथा साझेदार सगरमाथाबीच समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको जानकारी प्राधिकरणको अर्थका उपकार्यकारी निर्देशक दिवाकर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार आगामी चार महिनाभित्र प्राधिकरणसँग सगरमाथा कम्पनीले विद्युत् खरिद सम्झौता -पीपीए) गरिसक्नुपर्नेछ । पीपीएका लागि उसले एक लाख अमेरिकी डलर बराबरको बैंक ग्यारेन्टी राख्नुपर्ने समझदारी पत्रमा उल्लेख छ ।  यसअघि दुई पटक यस्तै समझदारी पत्रमा हस्ताक्षर गरेर पनि निर्माण सामग्रीको लागत वृद्धि भएको कारण देखाउँदै पीपीए गर्न नआएपछि एक लाख डलरको बैंक ग्यारेन्टी माग गर्नुपरेको हो ।

प्राधिकरण र सगरमाथाबीच यसअघि दुई पटक पीपीएका लागि सहमति भएको थियो । पहिलोपटक ५ दशमलव ६ र दोस्रोपटक ५ दशमलव ७३ सेन्ट्समा पीपीए गर्न तयार भएको थियो । सहमति गरेर पनि निर्माण सामग्रीको भाउ बढेको  भन्दै सिनो हाइड्रोले झन्डै साढे छ अमेरिकी सेन्टमा पीपीए गर्न प्रस्ताव गरेको थियो । प्राधिकरणले उसको प्रस्तावित दर महँगो भएकाले छ सेन्टभन्दा कममा आउन आग्रह गरेको थियो । 'धेरै पटक वार्ता भयो, बल्ल तय भयो,' प्राधिकरणका  कार्यकारी निर्देशक डा. जीवेन्द्र झाले भने, 'अब पीपीए हुन्छ ।'

समझदारीअनुसार प्रस्तावित खरिददर ५ दशमलव ९९५ सेन्ट्समा ३ प्रतिशत मूल्य वृद्धि हुनेछ । यस्तो वृद्धिको सुविधा १५ पटकसम्म मात्र पाइनेछ । नेपालको जलविद्युत् ऐनअनुसार ३० वर्षसम्म सञ्चालन गरेपछि निर्माताले सही हालतमा  विद्युत्गृह सरकारलाई बुझाउनुपर्नेछ ।

माथिल्लो मस्र्याङदीले हिउँद -सुख्खायाम) मा पनि ५० प्रतिशत ऊर्जा उत्पादन गर्ने भएकाले प्राधिकरणको प्रणाली सन्तुलनमात्र नभई आर्थिक हिसाबले पनि आकर्षक भएको पौडेलले बताए ।

अमेरिकी डलरमै भुक्तानी गर्नुपर्ने खिम्तीले हिउँदयाममा २० प्रतिशत मात्र ऊर्जा उत्पादन गर्छ । खिम्तीजस्तै सम्झौता भएको भोटेकोसीले भने ३० प्रतिशतमात्र बिजुली उत्पादन गर्ने भएकाले प्राधिकरणलाई महँगो परेको हो । जतिबेला  प्राधिकरणको प्रणालीमा वषर्ातमा बिजुली पर्याप्त हुन्छ, त्यतिखेर उनीहरूको बिजुली किनेर आफ्नो फाल्नुपर्ने हुन्छ । त्यस्तै चाहिएको समय -सुख्खायाममा) पनि खिम्ती र भोटेकोसीबाट पनि उत्पादन कम हुन्छ ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा