मुख्य समाचार»
कूटनीतिज्ञहरू पश्चिमतिर
नेपालगन्ज, २०६६ कार्तिक २१ - बेलायती सांसदसहितको टोलीले भ्रमण गरिरहेकै बेला गत साता मध्यपश्चिममा अमेरिकी कूटनीतिज्ञहरूको टोली पनि आइपुग्यो । अमेरिकी टोली र्फकनेबित्तिकै फिनल्यान्ड राजदूतसहितको टोली आयो ।
सबै टोलीले राजनीतिक विषयवस्तुलाई प्रमुख चासो दर्शाए । तर औपचारिक रूपमा भने उनीहरू सबैले आफूले दिएको सहयोग रकमको प्रभावकारिता अध्ययन गर्न आएको बताएका थिए ।
अमेरिकी दूतावासका राजनीतिक र आर्थिक विभागका प्रमुख टिमोथी पी टेङकलले भ्रमणमा माओवादीबाहेक स्थानीय सबै राजनीतिक दलका नेतालाई भेटेका थिए । 'अहिले जिल्लामा राजनीतिक शक्ति कसको कस्तो छ भनी जिज्ञासा राखेका थिए,' छलफलका सहभागी एमाले सचिव अशोक कोइरालाले भने ।
उक्त टोली १३ गते नेपालगन्ज आएको थियो । 'उनीहरूले विकास निर्माणभन्दा पनि राजनीतिक गतिविधि र दलहरूको अवस्थाबारेमा चासो देखाएका थिए,' कोइरालाले भने । टेङकलले भने, आफ्नो भ्रमण नियमित प्रक्रिया र समय तालिकाअनुरूप रहेको बताएका थिए । माओवादी नेतृत्वसँग भने टोलीले भेट गरेन । 'आएको गएको पत्तै भएन,' माओवादीका बाँके इञ्चार्ज प्रकाश सुवेदीले भने । टोलीले सुरक्षा निकायका प्रमुख र अधिकारवादीलाई छुट्टाछुट्टै भेटेर माओवादी र थारूवान आन्दोलन, तराईका सशस्त्र समूहको गतिविधिबारे सोधखोज गरेका थिए ।
'राजनीतिक स्थिरता छ/छैन भन्ने बुभmन आएका थिए,' बाँकेका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँले भने, 'हामीसँग सबै जानकारी मागे । तर आफ्ना बारेमा केही बताएनन् । जति सोधे पनि टाउको हल्लाए र मुसुक्क हाँसेमात्र ।' अमेरिकी टोली प्रमुख जिल्ला अधिकारीलाई भेट्न समय नलिई एक्कासि कार्यालय पुगेको थियो । प्रजिअले टोलीलाई १० मिनेट कुराएर भेटेका थिए ।
अमेरिकी टोली तीन दिनको भ्रमणपछि काठमाडौं फर्कियो । त्यसअघि ११ गते बेलायती सांसद र कूटनीतिज्ञहरूको टोली यहाँ आएको थियो । 'कन्जरभेटिभ' र 'लेवर पार्टी' का करिब एक दर्जन सांसदहरूले भने माओवादीसहित सबै राजनीतिक दलका नेतालाई भेटे । 'कस्तो खाले संघीय राज्य प्रणाली चाहनुभएको छ ? हामीले गरेको लगानी ठीक ठाउँमा छ/छैन ? जस्ता विषय उठाए,' माओवादी जिल्ला इन्चार्ज सुवेदीले भने, 'उनीहरू राजनीतिक मिसनमा आएका हो ला तर त्यस्तो कुरा गरेनन् ।' उक्त टोलीले पनि अन्य दलका नेताहरूसितको छलफलमा भने राजनीतिक विषयप्रति चासो दिएको थियो । तमलोपाका केन्द्रीय सदस्य विजयकुमार गुप्ताले भने, 'उनीहरू माओवादीबारे बढी केन्दि्रत थिए ।' टोलीले तराईवादी राजनीतिक दलका नेतासित उनीहरूको सशस्त्र समूहसँग सम्बन्ध भए नभएकोबारे पनि सोधेको थियो । 'तराईका सशस्त्र समूहसँग सम्पर्क छ/छैन ? भनेर सोधेका थिए,' मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा बाँके अध्यक्ष हीरालाला लोनियाले भने । टोली कैलालीस्थित माओवादी लडाकुको शिविरमा समेत पुगेको थियो ।
यस्तै फिनल्यान्डको राजदूतसहितको टोली १७ गते नेपालगन्ज आएर १८ गते युनिसेफको हेलिकप्टरमा हुम्लाको श्रीनगर गाउँ पुगेका थिए । श्रीनगरबाट अर्काे दिन टोली सदरमुकाम सिमकोट पुगेको थियो ।
'उद्देश्य जे भने यस्तो खाले विदेशी भ्रमण केन्द्र, जिल्ला र गाउँ तहसम्म नजानिँदो राजनीति र आर्थिक हस्तक्षेपको संकेत हो,' गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव गोपालनाथ योगीले भने, 'आउनुको उद्देश्यभन्दा बाहेक अन्य कुरा
सोध खोज गर्दै हिँडनु राजनीतिक चलखेल हो ।'












