मुख्य समाचार»
तीन सय वर्ष पुरानो मूर्ति हरायो
ललितपुर, २०६६ कार्तिक २० - पाटन दरबार क्षेत्रबाट बिहीबार राति तीन सय वर्ष पुरानो मूर्ति चोरी भएको छ ।
सुनको जलप भएको गरुडसहितको लक्ष्मीनारायणको मूर्ति चोरी भएको हो । दरबार क्षेत्रको सुन्दरीचोकको मध्यभागमा अवस्थित ढंुगेधाराको शिरमा मूर्ति थियो । पाटन दरबार स्क्वायरको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी प्रमुख सरस्वती सिंहका अनुसार यो तीन सय वर्ष पुरानो र पर्यटकीय आकर्षक भएकाले चोरिएको हो । यसको फोटोसमेत महँगोमा बिक्री हुने गरेको उनले बताइन् । 'यही मन्दिरलाई हेर्न मात्रै पनि पर्यटक आउँथे,' उनले भनिन् ।
६ इञ्च चौडाइ र ९ इञ्च लम्बाइको मूर्ति राजा सिद्धिनरसिहं मल्लले बनाउन लगाएका हुन् । पुरातात्त्विक हिसाबले सय वर्ष पुराना मूर्तिहरू बहुमूल्य मानिन्छन् । प्रहरीका अनुसार सय वर्ष पुराना मूर्तिको चोरी बढी हुने गरेको छ ।
प्रमुख सिंहका अनुसार चोरले दरबारको माथिल्लो तलाको झ्याल प्रयोग गरेको थियो । उनले बिहीबार कार्यालय समयपछि सबै झ्यालमा चुकुल लगाएर ढोकाहरूमा चाबी लगाएको तर भोलिपल्ट माथिल्लो तलाको एउटा झ्याल खुला देखेर आफू झसंग भएको बताइन् । चोरले कुनै पनि ढोकाको चाबी पनि फुटाएको छैन । प्रहरीले अनुसन्धान अघि बढाएको छ । मंगलबजारका प्रहरी नायब निरीक्षक कुशल बुढाले कान्तिपुरसँग भने, 'दरबारको जीर्णोद्धार सुरु गरिएको ठाउँबाट चोरी भएको छ ।' २० दिनअघिबाट दरबारको जीर्णोद्धार सुरु गरिएको हो ।
३० वर्षअघि पनि यहाँका १६ मूर्ति चोरी भएका थिए । 'यसअघि महिषासुर मादिनी, तोरण र दरबारको झ्यालमा रहेका १४ मूर्ति चोरी भएका थिए,' सिंहले भनिन्, 'यसपल्ट चोरिएको मूर्ति तीभन्दा पनि बहुमूल्य हो ।'












