मुख्य समाचार»
छोटकरी
२०६६ कार्तिक १९ - 'धम्की नदेऊ'
इलाम -कास)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आन्दोलन दबाउने प्रयत्न नगर्न चेतावनी दिएका छन् । 'बरु चुप लागेर बस्नु,' राजाका मन्त्रीको जस्तो भाषा प्रयोग गरेर नधम्क्याउन मन्त्रीहरूलाई सुझाव दिँदै उनले भने, 'नसक्ने काम गर्छु भनेर किन धम्क्याउनु ?'
पहिलोपटक बिहीबार इलामको जनसभालाई सम्बोधन गर्दै दाहालले आन्दोलन शान्तिपूर्ण र व्यवस्थित भएकाले दमन गरे दुस्परिणाम सत्तासिन दलहरूले नै भोग्नुपर्ने बताए ।
खनाल दिल्ली भेटघाटमा
नयाँदिल्ली -कास)- दुई वरिष्ठ भारतीय मन्त्रीहरूले नेपालमा शान्ति प्रक्रियालाई सफल बनाउन दलरूबीच सहमतिको आवश्यकता औंल्याएका छन् । भ्रमणमा रहेका नेकपा एमाले महासचिव झलनाथ खनालसँगको भेटमा बिहीबार विदेशमन्त्री एसएम कृष्णा र गृहमन्त्री पी चिदम्बरमले त्यस्तो बताएका हुन् ।
दुवै भेटमा मन्त्रीहरूले नेपाली शान्ति प्रक्रियाप्रति चासो देखाउँदै नेपालमा सबै मिलेर गएमात्र सफल हुने धारणा राखेका थिए । माओवादी आन्दोलनबारे छलफल नभएको खनालसँगै रहेका एमाले नेता उदय पाण्डेले बताए ।
भारतीय गृहमन्त्रीले सीमामा सुरक्षा र आतंककारी गतिविधिबारे चासो देखाउँदै त्यसको नियन्त्रण गर्न नेपाललाई सघाउन भारत तत्पर रहेको बताएका थिए । खनालले बिहान भारतीय कम्युनिस्ट पार्टीका महासचिव एबी बर्द्धनसँग भेटेका थिए भने साँझ माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव प्रकाश कारतसँग भेटेका छन् ।
सुरक्षा बैठक आजदेखि
काठमाडौं -कास)- नेपाल-भारत गृह सचिवस्तरीय सुरक्षा बैठक शुक्रबारदेखि काठमाडौंमा हुँदैछ । दुई दिने बैठकमा भाग लिन भारतीय गृह सचिव जीके पिलीको नेतृत्वमा टोली बिहीबार आइपुगेको छ । नेपाली टोलीको नेतृत्व गृह सचिव डा. गोविन्द कुसुमले गर्नेछन् ।
नेपाली पक्षले छलफलको मुख्य एजेन्डा सीमा पार अपराधका विषय हुने बताएको छ ।












