मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष चौथी नेपाल संवत् ११३० मुद्रण संस्करण

मुख्य समाचार»

सस्तोमा कुखुरा बेचेर आन्दोलन

अमृता अनमोल
आफूले पालेका कुखुरा आफैंले बेच्न लैजाँदै रूपन्देही देवदहका किसान ।

बुटवल, २०६६ कार्तिक १९ - के आन्दोलन गर्दा नारा जुलुस नै गर्नुपर्छ ? पर्दाे रहेनछ । चक्काजाम गर्नु वा टायर बाल्नुपर्छ ? पर्दाे रहेनछ । सर्वसाधारणलाई दुःख दिएरमात्र आन्दोलन हुन्छ ? त्यस्तो पनि हुँदैन रहेछ । कसैलाई दुःख नदिई पनि आन्दोलन हुँदो रै छ । त्यसले सर्वसाधारणलाई घाटा होइन फाइदा पो हुँदो रै छ ।

महँगोमा मासु बेच्ने व्यापारीले कुखुरा उत्पादकलाई भने अति कम मूल्य दिएको विरोधस्वरूप बिहीबार रूपन्देहीका कुखुरापालक किसानले अनौठो आन्दोलन थालेका छन् । उनीहरू व्यापारीलाई कुखुरा नदिई आफैं सडकमा मासु बेच्न बसेका छन् । आन्दोलनका लागि उनीहरूले खोलेका पसलमा बजारमा भन्दा किलोको ४० रुपैयाँ सस्तो मासु बिक्री भइरहेको छ । अनि, फाइदा भएन उपभोक्तालाई ?

सडकमा सस्ता पसल जब खुले बिहानैदेखि ग्राहकको भीडसमेत लाग्यो । ब्यानर लगाएर बसेका उनीहरू सस्तोमा मासु किन्न माइकबाट उपभोक्ताहरूलाई आग्रह गरिरहेका थिए । बुटवलको सडक विभाग परिसरमा लगाइएका पसलबाट मात्रै साँझसम्म करिब १० क्विन्टल मासु बिक्री भयो । 'दुई सय रुपैयाँ किलो लिइरहेको मासु १ सय ६० मा दिएको सुनेर यतै आएँ,' मिलनचोकका हरि श्रेष्ठले भने, 'आन्दोलनले उपभोक्तालाई घाटा होइन फाइदा पो भयो ।'

यसबाट मासु व्यवसायी भने मर्कामा परेको बताउँछन् । मासु व्यवसायी संघअन्तर्गत पन्छीजन्य उपसमितिका अध्यक्ष वीरेन्द्र राना भन्छन्, 'किसानहरूले यसरी ान्दोलनमा उत्रेर राम्रो गरेनन् । व्यापारीसित प्रतिशोध लिँदा अन्ततः उनीहरूलाई नै घाटा हुन्छ ।' उनले दसैं र तिहारलाई लक्षित गरी पालिएका कुखुरा एकैपटक बढेकाले समस्या भएको दाबी गरे ।

यसअघि मासु व्यवसायी संघ र लुम्बिनी कुखुरापालक संघबीच १ सय १० रुपैयाँमा जीउँदो कुखुरा किनबेच गर्ने सहमति भएको थियो । संघका अध्यक्ष रामप्रसाद देवकोटाका अनुसार व्यवसायीले हाल ८० रुपैयाँभन्दा बढी दिन छाडे । 'लगानी पनि नउठेपछि बाध्य भएर यो कदम चालेका हौं,' उनले भने, 'दाना, औषधिलगायत सबै सामानको मूल्य बढेको बढ्यै छ, कुखुराको भाउ घटाउने व्यापारीको कुचाल सहन सक्दैनौं, आन्दोलन चर्काउँछौं ।'

अर्कातिर सस्तोमा मासु पाएका उपभोक्ता भन्छन्, 'यस्ता आन्दोलन सधैं भइरहुन् ।'

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा