मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

मुख्य समाचार»

पर्वतमा स्वाइनफ्लु

  • संकलित १२ नमुनामध्ये ९ प्रमाणित
अतुल मिश्र

काठमाडौं, २०६६ कार्तिक १९ - स्वाइनफ्लुको आशंकामा पर्वत सदरमुकाम कुस्माबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याइएको १२ नमुनामध्ये ९ मा उक्त रोग प्रमाणित भएको छ । 

कुस्माका विद्यालय, सैनिक क्याम्प र स्थानीय समाजमा रुघाखोकी -इन्फ्लुएन्जाजस्तै लक्षण) को संक्रमण बढेपछि सैनिक क्याम्पबाट ५ र स्कुलबाट ७ जना संक्रमितको 'थ्रोट स्वाव' नमुना परीक्षणका लागि ल्याइएको थियो ।

'जनस्वास्थ्य प्रयोगशाला प्रतिवेदनअनुसार १२ मध्ये ९ वटा नमुनामा स्वाइनफ्लु देखिएको छ,' स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले कान्तिपुरसँग भने, 'अब पर्वत जिल्लास्थित स्वास्थ्य निकायसँग समन्वयको पहल भइरहेछ ।'

स्रोतका अनुसार सेना र विद्यार्थी दुवैमा स्वाइनफ्लुको संक्रमण देखिएको छ । स्वाइनफ्लुको जोखिममा सबै भए पनि ५ वर्ष मुनि र ६५ वर्ष माथिका व्यक्ति तथा गर्भवती महिला बढी सावधान रहनुपर्ने डा. मिश्रले बताए । मौसमी रुघाखोकीजस्तै स्वाइनफ्लु अर्थात् एच१एन१समेत फैलिने गरिएको छ ।

फोक्सो, मृगौला, मस्तिष्क, मधुमेह र मुटुका रोगी तथा प्रतिरोधक क्षमता कमजोर भएकालाई संक्रमणको जोखिम बढी हुन्छ ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन -सीडीसी) का अनुसार फ्लु भाइरस शरीरमा मुख र नाकको माध्यमबाट सर्छ । यसले श्वासप्रश्वाससँग जोडिएका नलीहरू र फोक्सो हुँदै कोसिकाहरूमा आक्रमण गर्छ । शरीरको प्रतिरक्षा प्रणाली भाइरसविरुद्घ सक्रिय भएर यसलाई समाप्त गर्ने कोसिस गर्छ । रोगीमा संक्रमणको एकदेखि सात दिनसम्ममा लक्षण विकसित हुन सक्छ । लक्षण देख्नुभन्दा २४ घन्टाअघि र ८ दिनपछिसम्म कुनै अन्य व्यक्तिमा भाइरस सर्न सक्ने जोखिम हुन्छ ।

सामान्यतया यो भाइरस हत्केला, कागत, काठमा करिब ८ घन्टासम्म सक्रिय रहन्छ । प्लास्टिक वा स्टिलमा भने २४ देखि ४८ घन्टासम्म जीवित रहनसक्छ । विज्ञहरूका अनुसार यसलाई समाप्त गर्न डिटर्जेन्ट, अल्कोहल, ब्लीच या साबुनको उपयोग गर्न सकिन्छ । हाल मुलुकमा इन्फ्लुएन्जा ए भाइरसको संक्रमण हुने व्यक्तिमा ज्वरो आउने, घाँटी बिग्रने, जीउ दुख्ने, टाउको दुख्ने, काम्ने र थकाइ लाग्ने गर्छ ।



स्वाइनबारे खुल्दुली

स्वाइनफ्लु भएकासँग सम्पर्कमा आए के गर्ने ?

लक्षण नदेखिएसम्म सामान्य जीवन बिताउने । यदि सम्पर्कमा आएको सात दिनभित्र लक्षण देखिए चिकित्सकसँग सम्पर्क गर्ने ।

कति दिन आराम गर्ने ?

अस्पतालले वयस्कलाई सामान्यतया प्रारम्भिक लक्षण देखिँदा ५ दिनसम्म अवलोकनमा राख्छ । बच्चालाई भने ७ देखि १० दिनसम्म प्रतीक्षा गर्न भनिन्छ । सामान्य परिस्थितिमा राम्ररी निको हुन व्यक्तिलाई ७ देखि १० दिनसम्म आराम गर्नुपर्छ । जबसम्म फ्लुको सम्पूर्ण लक्षण समाप्त हँुदैन काम गर्ने ठाउँबाट टाढा रहनु नै राम्रो हुन्छ ।

दोहोर्‍याएर नि हुन सक्छ ?

जबसम्म हाल देखिएको स्वाइनफ्लुको भाइरसमा कुनै परिवर्तन हुँदैन त्यसबेलासम्म एउटै व्यक्तिलाई दुईपटक स्वाइनफ्लु हुने आशंका रहँदैन ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा