कला र शैली»
इन्स्पेक्टरको तिर्खा
काठमाडौं, २०६६ कार्तिक १७ - नवीन प्रधानको तिर्खा गायनमै थियो, जागिरले उनी इन्स्पेक्टर -प्रहरी निरिक्षक) भइदिए । दस वर्षअघि 'सयौं खोला तरेर...' गाएका उनको तिर्खा भने अब मेटिएको छ । हालै उनले सोलो एल्बम निकालेका छन्- 'नौलो तिर्खा' ।
'एल्बमको रहर पुरानै हो,' हालै पुतलीसडकमा भेटिएका उनले सुनाए, 'बल्ल पूरा
भयो ।' भोजपुरमा जन्मेर काठमाडौंमा सेवारत उनले जमानामै रत्नमान बेहोसीसँग भोकल र हार्मोनियम सिकेका रहेछन् । हालै राजेशमान सिंहको एल्बममा नेवारी गीत 'मुसुक्क न्हाला हुँ...' समेत गाउन भ्याएका उनले एल्बममा आधुनिकसँगै पप, रिमिक्स र रक स्वादका गीत
समेटेका छन् ।
'बुबा नासु हुनुहुन्थ्यो,' गीतप्रतिको लगावको कुरा गर्दा उनले पुराना दिन सम्झे, 'उहाँसँगै कहिले सोलु, कहिले ओखलढुंगा त कहिले खोटाङ पुग्थें । त्यति बेलैदेखि मैले गीतलाई नजिकको साथी बनाएको हुँ ।'
त्यसो त प्रहरी सेवाभित्रै पनि उनी गायकी कौशल प्रस्तुत गरिरहन्थे रे, द्वन्द्वकालमा रुकुम र सल्यानतिर छँदा होस् या कोसोभो मिसनमा । 'सल्यानमा कन्सर्ट नै गरें,' उनले भने, 'कोसोभो मिसनमा छँदा ज्याज फेस्टिभल भएको थियो, युरोपभर लाइभ टेलिभिजिन प्रसारण भएको त्यो कन्सर्टमा पनि गाएँ ।'
त्यो कन्सर्टमा उनले 'सयौं खोला तरेर...' बाहेक 'अच्छा लेकिन लन्डनको चिसोले...' जस्ता अरूकै गीत गाउनुपरेको थियो । अब भने उनलाई त्यो बाध्यता पक्कै पर्नेछैन । ३८ वर्षे नवीनले एल्बममा एघार वटा गीत समेटेका छन् । पश्चिमा शैलीको रिमिक्सदेखि पूर्वी नेपाली समाजमा प्रचलित हाक्पारेसम्म । एल्बममा रिमिक्स 'सल्लेरी हावाले...,' डिस्को पप 'छेकिन्न छेकिन्न...,' फिल्मी शैलीको 'उनलाई देखेपछि...', लोकपप 'सयौं खोला तरेर...,' पप आधुनिक 'संगीत मेरो अधुरो...', आधुनिक 'घामले मात्र हैन हजुर जुनले पनि पोल्छ...' देखि पूर्वी नेपालको ट्याम्के आसपास गाइने हाक्पारे 'दह बनी जमेको पानी...' सम्म छन् ।
शब्दमा उनलाई डा. भोला रिजाल, नीर शाह, हिरण्य भोजपुरे, विद्याप्रसाद घिमिरे, राजेशमान सिंह, सन्तोष लम्साल, भूपेन्द्रमान बज्राचार्य, खडग बुढाले सघाएका छन् भने संगीतमा स्वयम्भूराज शाक्य, किशोर खतिवडा, युवराज गुरुङ, राजेशमान, भूपेन्द्रमान, खडग, सुमन कपाली, सञ्जय खडगी र सावनदेव श्रेष्ठले । एउटा गीतमा नवीनले वरिष्ठ गायिका ज्ञानु राणासँग गाउने अवसर पाएका छन् ।
१५ वर्ष प्रहरी सेवामा बिताइसकेका उनले अब गायन करिअरलाई निरन्तरता दिने योजना रहेको बताए । 'छिट्टै नेवारी एल्बम ल्याउँदै छु,' उनले भने, 'पूर्वतिरको लोकदोहोरी समेटेर पनि एल्बम निकाल्दै छु ।'












