मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

कला र शैली»

मिथिला, मैथिली र मलंगिया

नवीन झा

जनकपुर, २०६६ कार्तिक १७ - मिथिलाञ्चलका एक भूतपूर्व भूगोल शिक्षक महेन्द्र मलंगियाको चिनारी अर्कै छ । उनी लोकपि्रय रंगकर्मी समेत हुन् जो समाज परिवर्तनको संवाहक भूमिकामा रंगमञ्चमा देखिने गर्छन् ।

उमेरमा छ दशक पार गरेका यी शिक्षक रंगकर्मी भारतको मधुवनीमा जन्मे-हुर्केका थिए । २०२२

सालमा मलंगिया धनुषा आएका हुन् जुनबेला नाचगानदेखि सिनेमा र नाटकसम्म हिन्दी भाषाको प्रभाव थियो ।

धनुषा आएर मलंगिया सुरुका दिनमा हिन्दी भाषामै नाटक खेल्थे । 'हरेक नाचगान वा नाटकमा दर्शकको संख्या उल्लेख्य हुन्थ्यो,' उनी सम्झन्छन्, 'दर्शकको यस्तो रुचिलाई मैले सकारात्मक र सन्देशमूलक रूपमा मैथिली नाटकमा ढाल्ने काम गरेको थिएँ ।' रंगमञ्चका साथै उनी कलेजमा भूगोलका शिक्षक समेत रहे ।

पहिलोपल्ट उनले पण्डित गोविन्द झाद्वारा मैथिलीमा लिखित नाटक 'बसात' को मञ्चन गरेका थिए । 'मातृभाषाको नाटकले दर्शकलाई तानेको पत्तो पाएपछि मलाई त्यसले अझ उ,र्जा दियो,' उनी भन्छन्, 'जे त पर्ला भनेर मैथिली भाषामा नाटक लेख्न थालें ।' खासमा मलंगियाले आफ्नो मातृभाषा र संस्कृतिप्रति देखाएको अनुराग पनि थियो यो ।

मलंगिया मैथिली नाटक सिर्जना र मञ्चनमा कसैले नसोचेको ढङ्गमा लागिपरेका थिए । 'एक कमल नोरमे', 'कमला कातक राम, लक्ष्मण आ सीता', 'ओकरा आङनक बाह्रमासा', 'काठक लोक', 'पुस जाड कि माघ जाड', 'ओरिजनल काम', 'गाम नइ सुतैए', 'जुआएल कनकन्नी', 'राजा सहलेस' आदि दर्जनौं नाटक लेखनबाट मलंगिया चिनिए जो मैथिली रंगमञ्चका मार्गनिर्देशक नामसमेत हुन् । 

'मेरो कर्तव्य सामाजिक समस्या र विकृतिलाई उजागर गर्नु हो,' दुई वर्षअघि शिक्षणबाट अवकाशप्राप्त नाटककार मलंगिया भन्छन्, 'समाजमा यसबाट कस्तो र कुन रूपमा प्रभाव पार्‍यो भन्ने कुराको मूल्यांकन गर्ने जिम्मा समाज र समीक्षकको हो ।' सय वर्षको इतिहास बोकेको मैथिली नाटकको परम्परालाई निरन्तरता दिँदै मलंगियाले महिला शोषण, मजदुर, कमैया र गरिबगुरुवामाथि संवेदना छरेर नाटक लेखेका छन् ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा