कला र शैली»
कन्सर्ट यात्रामा जगदीश
काठमाडौं, २०६६ कार्तिक १७ - चौध वर्षअघि इलामबाट गायक बन्ने सपना बोकेर काठमाडौं पसेका जगदीश समाललाई यतिबेला फुर्सद छैन । कतै न कतैबाट गायनको निम्तो, नभए गजल रेस्टुरेन्टको व्यस्तता । चारवटा एकल र झन्डै चार सय संयुक्त एल्बममा गाइसकेका उनी एघार सय गीतका गायक बनिसकेका छन् ।
अग्रज र आफ्ना गीत मिसाएर आधा दर्जन एकल कन्सर्ट गर्न भ्याइसकेका यिनी हङकङ, जापान, बेलायत, स्वीट्जरल्याण्ड, जर्मनी, बेल्जियम र हल्यान्डसम्म पुगेका छन् । यतिबेला भने आफ्नै मात्र गीत समेटेर पहिलो एकल कन्सर्टको तयारीमा जुटिरहेका छन् । 'काठमाडौंबाट सुरु गरेर,' उनले आफ्नो योजना सुनाए, 'इलाम, झापा, मिरिक हुँदै काठमाडौंकै प्रज्ञाप्रतिष्ठानमा टुंग्याउँछु ।' यही २५ गते दरबारमार्गस्थित मालिंगो गजल रेस्टुरेन्टबाट सुरु गरिने यात्रा कन्सर्टको अरू मिति तय हुनै छ ।
चौध वर्षअघि रेडियो नेपालमा 'कसैले देखे, कसैले भेटे...' गाएर गायन यात्रा थालेका उनीसँग सात वर्ष गजल रेस्टुरेन्टमा गाएको अनुभव पनि छ । 'त्यही भएर गजल रेस्टुरेन्टबाटै उद्घाटन गर्न खोजेको हुँ,' उनले भने, 'मेरो गायन यात्रामा गजल अनुभवले निकै सपोर्ट पुर्याएको छ ।'
'आधी उमेर निन्द्रैमा बित्यो...' र 'काँडा हो माया...' गाएपछि चर्चामा आएका उनका 'आऊ यादहरू आऊ...', 'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई -जेन्स भर्सन)', 'म त मर्छु क्यारे...', 'तिमी मसँग भइदिए..' लगायतका गीत सदाबहार छन् ।












