मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

कला र शैली»

टाटु पनि चित्र पनि

कान्तिपुर संवाददाता

फिदिम -पाँचथर, २०६६ कार्तिक १७ - दैनिक आठ घन्टा श्रम गरेबापत महिनाको २० हजार नेपाली रुपैयाँ कमाउने उनले कलाको महत्त्व त्यतिबेला थाहा पाए जतिबेला टाटु बनाएरै एक महिनामा ६० हजार रुपैयाँसम्म हात पर्‍यो ।

'गलेर लखतरान हुन्जेल खटेर कमाएको तलबभन्दा,' खाडी मुलुक यूएईमा १४ महिना बिताएर भरखरै गृहथलो फिदिम फर्किएका उनले सुनाए, 'दिमाग लगाएर टाटु खोप्दा तीनगुणा बढी कमाइ हुन्थ्यो ।'

कुरा हो उपत्यका जस्तो लाग्ने फिदिममा २६ वर्षअघि जन्मिएका सागर लिम्बू

-हाङसोरुम्बा) को, जो चित्र बनाउन र टाटु खोप्न दक्ष छन् । आफ्नै दाजु श्यामको प्रतिभाबाट प्रभावित भएर बाल्यकालदेखि नै कला क्षेत्रमा तानिएका उनी पाँचथरका जल्दाबल्दा चित्रकार हुन् । चार्कोल, पेन्सिल र वाटर कलरको प्रयोगबाट उनले बनाएका चित्र स्थानीय यूके र पाँचथर गेस्ट हाउसका भित्ताभरि भेटिन्छन् ।

फेसनप्रति अनुदार र धर्ममा कट्टर मानिने मुस्लिम मुलुकमा बस्दा फिलिपिनो, श्रीलंकन, साउथ अपि|mकन, लेबनानी आदिका शरीरमा टाटु खोपेर 'राम्रै' कमाएका सागर यतिबेला घरमै खाली समय बिताइरहेछन् ।

'बाहिरबाट घुम्न र काममा आएकाले मात्र होइन,' यूएई बस्दाको आफ्नो टाटु कर्मबारे उनले भने, 'दुबईकै धेरै जना पुलिस अफिसर, इन्जिनियर र म्यानेजरसमेत लुकीलुकी टाटु बनाउन आउँथे ।'

विदेशमा आफ्नो प्रतिभा धेरैले रुचाएपछि सागरले स्वदेश फर्केलगत्तै राजधानीको कुमारीपाटीमा 'सेवारो ट्याटुज कर्नर' पसल खोलेका रहेछन् । कसैबाट यसको औपचारिक शिक्षा नलिएकाले आफूलाई 'भुइँप'mुट्टा' भन्न रुचाउने उनको मुख्य रुचि चित्र बनाउने हो, तर घरको गर्जो टार्न टाटु पसल खोले । उनले बनाएका ग्रामीण परिवेश झल्कने चित्र पनि नबिक्ने चाहिँ होइनन् ।

'केही विदेशीले होटलको डाइनिङ रुमबाटै चित्रहरू किनेका छन्,' एउटै पारिवारिक पोट्रेटलाई २५ हजार रुपैयाँसम्म लिएका सागरले सुनाए, 'दुबईमा चाहिँ एउटै टाटु खोपेबापत ३० हजारसम्म लिन सफल भएको थिएँ ।' दाहिने पाखुरामा जापानिज माछा 'कोयो' र देब्रेमा आदिवासी प्रतिबिम्बित हुने 'एब्स्ट्रक्याट' आकृतिको टाटु खोपाएका उनी नेपालमा युवापुस्ता टाटुतर्फ आकषिर्त भए पनि चित्रकलामा उत्सुक नभएको ठम्याउँछन् । 

'त्यसैले चित्र बनाउनुभन्दा टाटुमै फाइदा देखेको छु' कुमारीपाटीको पसलमा बस्दा एउटै टाटु खोपेबापत १५ हजार रुपैयाँसम्म कमाएका सागर भन्छन्, 'चित्र चाहिँ आत्मसन्तुष्टि प्राप्त गर्नमात्र बनाउँदै छु ।' पहाडी परिवेशमा जन्मे-हुर्केकाले हुन सक्छ, उनले बनाएका चित्रमा प्राचीन घरको झ्यालबाट चिहाउँदै हाँसेको, दौरा सुरुवाल, ढाका टोपी र टीका लगाएको, बुलाकीधारी महिला रेजीका हारमा सजिएको जस्ता मौलिक खाले हुन्छन् ।

एक दशकदेखि चित्रकलामा हात हालेका सागरको कलाबाट प्रभावित भएर विदेशी नागरिक बढी लठ्ठने गरेका रहेछन् । 'होटलमा आएका विदेशीले भित्तामा चित्र देख्नासाथ चासो देखाउँछन्,' चित्रकै माध्यमले निकै जना विदेशी साथी बनाइसकेका उनले भने, 'उनीहरूले मन पराएको चित्र सामान्यै भए पनि मूल्य धेरै होस वा थोरै,

किनिहाल्छन् ।' हरेक पुसमा लाग्ने 'युवा मेला' मा सागरले ६० चित्रको एकल प्रदर्शनीसमेत गरिसकेका छन् ।

यूएई बस्दा कमाएको पैसाले काठमाडौंमा पसल खोलेका उनलाई टाटु खोप्न सघाउने नाताभित्रकै भाइहरू रहेछन् । 'अब त्यो पसल केही समयलाई उनीहरूकै जिम्मामा छोडेर' युरोपियन मुलुक जाने तयारीमा रहेका सागरले अबको योजना सुनाए, 'दुई-चार वर्ष विदेशमा कमाएको पैसाले भविष्यमा चित्रकलालाई निरन्तरता दिन सजिलो हुनेछ ।' स्वदेश फर्केपछि ललितकला पढ्दै सिर्जनात्मक काममा लाग्ने उनको रुचिमा परिवारको समेत साथ रहेछ ।

 

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा