मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

विविधा»

लिम्बुवानमा बन्दको पनि 'क्यु'

देवेन्द्र भट्टराई

२०६६ कार्तिक १७ - पाँचथरको रक्से बजार पुगेपछि एकहुल युवायुवतीले कुदिरहेको गाडी रोके । सानो गाडीमा पुस्तकालय उद्घाटनका लागि हिँडेकी रिड ग्लोबलकी डा.एन्टोनिया न्युवर लगायतका ५/७ पुस्तकालय अभियन्ताहरू कोचाकोच बसेका थिए । हाहा र हुहुसँग गाडी रोकिएपछि सर्तक हुनैपर्‍यो । उनीहरू कतै पिकनिकबाट फिदिम बजार घरतिर फिर्नलागेका रहेछन् । यातायातको साधन नपाएको झोँक र उमेरको उन्मादमाझ सानो गाडीको हुटमा धमाधम केटाकेटीहरू उक्लन लागेपछि त्यसो नगर्न भनियो । भीडबाट ओठको मुनि भर्खरै जुँगाको रेखी बसेका एक किशोर कराए- 'यसो गर्न किन मिल्दैन ? यो हाम्रो राज्यमा यसो गर्न जत्ति पनि मिल्छ...!'

कात्तिक १० गते फिदिम बजारमा हुनलागेको पाँचथर पुस्तकालय उद्घाटनको अघिल्लो दिन यसरी बाटैमा 'हाम्रो राज्यको छनक' पाइसकिएको थियो । साँझमा फिदिम बजार उत्रनासाथ स्थानीय 'छाल साप्ताहिक'का पत्रकार मित्रहरूसँग बाचचित सुरु भयो । यसै साताको पत्रिका सम्पादकीयमा पत्रकारिताको विरोध-विम्बस्वरूप सम्पादकीयमा कालो पोतिएको रहेछ । सम्पादक नारायण तुम्बापो, अतिथि सम्पादक प्रेम ओझासहितका मित्रहरू लिम्बुवानमा चौथो अंगमाथि आइपरेको औडाहा सुनाउनमा व्यस्त थिए । मञ्च सम्बद्ध लिम्बुवान राज्यपरिषदले हालै पाँचथरमा आयोजित एक समारोहमा 'लिम्बुवानको विरोध गर्न पत्रकारको टाउको काट्छौं' भनेर जुलुसनारा गराएकोमा त्यसको विरोधमा पत्रिका सम्पादकीयमा कालो पोतिएको रहेछ ।

केही वर्षयता आफ्नो ओरिजिनल नाममा फर्किएको 'फेदेन बजार'स्थित युके लजमा चहलपहल निकै बढेको थियो । ०१८ सालसम्म 'फेदेन' रहेको बीचमा अपभ्रंश भएर फिदिम भएको रहेछ, अहिले लिम्बुवानको अभियानसँगै यो पुरानै नाममा फर्केको रहेछ । अनि पाँचथर पनि 'पान्थर' बनेको रहेछ । फेदनको चहलमहल माझमा लिम्बुवान परिषदसम्बद्ध केन्द्रीय नेता मित्र लिङ्देन युके होटलमा आइपुगे । लिङदेन चिनारु पत्रकारमाझ बयान शैलीमा भन्दै थिए- 'हामीले पत्रकारको टाउको काट्ने भनेका छैनौं । कुनै घुसपैठले हाम्रो राज्यमा जे पनि गर्न पाइन्छ भनेको होला, यस्तो कुरा हाम्रा कार्यकर्ताले भनेका होइनन्, हामीले स्वेच्छिक चन्दामात्रै लिएका छौं...।'

त्यो मंगलबारको दिन थियो । पूर्वका लिम्बुवान भनिएका संखुवासभा, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुन्सरीमा कसैले पनि कारण खुलाउन नसक्ने 'लिम्बुवान बन्द' त्यसै दिन सुरु भइसकेको थियो । सदरमुकाममा पुस्तकालय उद्घाटनका लागि आसपासका विद्यालयहरूबाट विद्यार्थीको ताँत फिदिम बजारतिर ओर्लिएका बेला बजारका पसल र अरू चहलपहल भने शून्य-शून्य थिए । तैपनि पुस्तक र पुस्तकालयप्रतिको लगावका कारण त्यो बन्दका दिन पनि भेला भने आकर्षक थियो ।

कानुन, संविधान, नियम र पद्धतिको खोजीमा रहेको सिंगो मुलुकका सामु प्राथमिकता र आवश्यकताका चासोहरू के-के हुनसक्छन् भनेर केलाउनेहरूको खाँचो त्यहाँ थियो । बरु स्थानीय चोकको न्यु काल्दाइको होटलमा बसेर उत्तरवर्ती र रंगवादबारे दिनहुँ चर्चा गर्ने युवाहरूको दुनियाँ अलग लाग्थ्यो । माथि सुम्हाल्तुङ एफएममा लिम्बु भाषामा समाचार भन्ने सेसेफुङ शेर्मा, चन्द्र आङदम्बे, मनु आङ्दम्बे र शारदा आङदम्बेहरूले बरु आफ्नो कर्तव्य निभाइरहेका थिए । १७ वर्षअघि पाँचथर पुस्तकालय सञ्चालनमा अगुवा रहेका फिदिम- ७ का ६३ वर्षे उपेन्द्रप्रसाद ढुङ्गानाको बुझाइ आफैंमा महत्त्वपूर्ण लाग्थ्यो, लिम्बुवानको सन्दर्भमा उनी भन्दै थिए, 'हामीलाई खुसी भइहाल्नुपर्ने वा डराउनुपर्ने कुनै स्थिति छैन ।'

'के, किन, कसले, कसरी बन्द सुरु भएको हो' भन्ने कारण जनमानसले नबुझेरै पनि लिम्बुवानको बन्द भव्य सफल रह्यो । सफलमात्रै रहेन, त्यो अनिश्चितकालीन रहने हल्लासमेत छायो । मंगलबार अपराह्नै परिषदसम्बद्ध नेतृत्वका हातबाट पत्र लिए पनि कसोकसो इलाम बजारसम्म आएर बास बस्यौं । तर बन्दको प्रभाव त्यहाँ पनि उस्तै थियो । वर्षभरकै सबैभन्दा ठूलो एकादशी मेलाको सांस्कृतिक उत्सवमा होटल-सेवा पुर्‍याउन कस्सिएर लागेका इलाम, माइपोखरीका निमा दोर्जी शेर्पाका कानमा अनिश्चितकालीन बन्दको हल्ला पुगेपछि उनी आवेशमा उत्रेका देखिन्थे- 'यो मेलामा बन्द गरुन् मात्रै त, हामी डल्लै माइपोखरीका गाउँले उत्रेर तल सदरमुकाम घेराउ गछौर्ं ।'

बन्दको थप हल्लै-हल्लामा इलाम पत्रकार महासंघका अध्यक्ष सटेन्द्र जबेगु र फिक्कल एफएमका प्रबन्धक गायक गणेश रसिकको सवारी साधन सहयोगमा माइपोखरी एकादशी मेला भर्न हिँडेका हामीहरू रातारात फिक्कल उत्रिसकेका थियौं । माइपोखरीका श्रमजीवी निमा दोर्जी कराएर के गर्नु ? एकादशी मेला अर्थात् बिहीबारकै दिनबाट अर्को बन्द सुरु भइसकेको थियो, लिम्बुवानमा । एकीकृत नेकपा माओवादीले पूर्वका पाँच जिल्लामा सुरु गरेको बन्द कतै झडप त कतै धम्की-त्रासका माझ लिम्बुवानतिर फैलिसकेको थियो ।

'बिहीबार बेलुकी भने चार बजेबाट केही घन्टाका लागि बन्द खोलिएको रे', फिक्कल बजारमा भेटिएका स्थानीय फिक्कल एफएममा लेप्चा भाषाका समाचारवाचक वीरबहादुर लेप्चा भन्दै थिए- 'मिल्छ भने अहिले नै तल झापातिर झरिहाल्नुस् है ।' बेलुका चार बजे बन्द खुलेको खबर पाएर बिर्तामोड झर्नु मुस्किलको कुरा थियो । फेरि उनै लेप्चाले जानकारी दिए- 'सर, अब यो माओवादीको बन्द खुल्नासाथ यहाँ कांग्रेसले बन्द सुरु गर्ने रे, अनि सायद फेरि अर्को कुनै पार्टी आउला, बन्द गर्नलाई ।' अरू उपाय नभएपछि यसरी बन्द 'क्यु'मा बसेको रहेछ, लिम्बुवानमा । धेरै सिर्जनशील, उत्साही र समयको कुरा गर्ने सर्जकहरू पनि यहाँ उत्तिकै छन्, तर त्यो सबै ओझेल परेझैं भएको छ- लिम्बुवानमा । सिंगो देशको चिन्तन गर्नेहरू पनि यहाँ छन्, तर ती पनि लगातारको बन्द मारमा परेका हुन् कि झैं लाग्छ । लिम्बुवानमा कि लगातारको बन्द कि त 'हाम्रो राज्यमा जे गरे पनि हुन्छ'को समवेदनाले गिजोलेको यो घडीमा यसलाई सम्हाल्नेहरू भने कतै हराइरहेका हुन् कि झैं आभाष हुन्छ ।

devendraqatar@gmail.com

 

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा