मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

विविधा»

परम्परा सुधार्ने काइदा र मृत्यु-इच्छा

रवीन्द्र मिश्र

२०६६ कार्तिक १७ - नेपाल साप्ताहिकको दशैं अंक -आइतबार, १८ असोज २०६६) हेर्ने मौका ढिलो जुर्‍यो । उक्त अंकमा यस पंक्तिकारका दृष्टिले एउटा गज्जबको समाचार छापिएको रहेछ । तर त्यसले आम पाठकहरूको ध्यान नै नखिच्नेगरी संक्षिप्त समाचारहरूको माझमा एउटा सानो स्थान पाएको थियो । इलामबाट विप्लव भट्टराईले लेखेको समाचार 'परम्परा सुधार्न काइदा'को व्यहोरा छोटो र बढीभन्दा बढी पाठकहरूसम्म पुर्‍याउनैपर्ने खालको महसुस भएकोले, म त्यसलाई यहाँ जस्ताको त्यस्तै उद्धृत गर्दैछु ः

'मृत्यु भएको १२ औंं दिनमा हिन्दू संस्कारअनुसार पुरोहितलाई दान गर्न गाई-बाच्छीको ताँती लगाउनुपर्नेमा वरबोटे- ९ की गायत्री भटटराईले आँगनभरि ५० जना विद्यार्थी भेला पारिन् । खानपान गराएपछि सबैलाई कापी र बलपेन बाँडिन् । सेता कपडामा बेरिएकी घरमूलीले वरबोटे प्राविका लागि १० हजार रुपैयाँको अक्षयकोष र माईस्थानमा सञ्चालित वेद पाठशालालाई पाँच हजार रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरिन् । गायत्रीका बाबु डिल्लीराम भट्टराईको निधन भएको १२ औंं पुण्यतिथिका दिनमा यो सब भइरहेको थियो । उनले परम्परा र धार्मिक मान्यतामा समयसापेक्ष सुधारका लागि यसो गरेको बताइन् । भनिन्, प्रत्येक वर्ष आउने श्राद्धमा कोषमा रकम थप्दै जानेछौं ।

सामाजिक परिवर्तका लागि परम्परागत काजकिरिया नगरेकोमा उनीहरूले आलोचना पनि खेप्नुपर्‍यो । उनीहरूले सघाउनी लिएर आएका दलित, जनजातिलाई पनि निराश पारेनन् । बाह्मण परम्पराअनुसार शुभेच्छुकले दिएको रकम पनि जम्मा गरेर विद्यालयलाई उपलब्ध गराइयो । गायत्री भट्टराईको कदम समाज र सोच परिवर्तनकारी समाचार थियो ।

पत्रिकामा त्यसले भिन्न प्रकारको प्रस्तुति पाउनुपथ्र्याे भन्ने यस पंक्तिकारको धारणा हो । तर जति स्थान पायो, त्यसलाई पनि धन्य भन्नुपर्छ, किनभने त्यस्ता सकारात्मक समाचारहरू पाठक र पत्रकार दुवैका लागि बिरलै समाचार बन्ने गर्छन् । परम्परागत काजकिरिया नगरेकोमा गायत्री भट्टराईले कतिपयबाट आलोचना खेप्नुपरे जस्तै भट्टराईको कदमलाई सकारात्मक भन्दै सिङ्गो स्तम्भ नै लेख्दा निश्चय पनि हिन्दूधर्ममा कतिपय परम्परागत अनुयायीहरूलाई चित्त नबुझ्न सक्छ । तर नेपालमा अभ्यास गरिने हिन्दूधर्ममा सबभन्दा ठूलो शक्ति नै लचकता र नरमपना हो, जुन छिमेकी देश भारतमा त्यति देखिँदैन । सारमा भन्ने हो भने धर्म भनेकै कल्याण हो । तर दुर्भाग्यवश, धर्मलाई संसारभर कल्याणभन्दा प्रक्रिया र परम्परासँग बढी जोड्ने गरिन्छ । परिणामस्वरूप, मन्दिर जाने अधिकांश भक्तजनहरू पूजा सरजामका लागि धेरै खर्च गर्न हिचकिचाउँदैनन् । तर मन्दिर बाहिर माग्न बसेका असहाय र वृद्ध-वृद्धाहरूका लागि भने १०/१० पैसाको खुजरा छुट्याउँछन् । पूजा सरजाममा गर्ने खर्च असहाय र वृद्ध-वृद्धाहरूलाई बाँडिदिने र मन्दिरमा चाहिँ भगवानका सामु श्रद्धाले शिरमात्र झुकाउने हो भने के भगवानले चित्त दुखाउलान् र ?

आफ्नो शिरमा ओइलिएर जाने फूलमाला अनि कुहिएर जाने टीका र प्रसाद नपाए पनि दीनदुःखीहरूको पेट भरिएको देख्दा के भगवान खुसी हुँदैनन् होला र ? त्यसैले जन्मदिनमा बिहानभरि पूजाआजामा बिताउनेहरूभन्दा गरिब र असहायहरूलाई खुवाउने, अनि काठमाडौंका पाँचतारे होटेलमा 'बर्थडे पार्टी' गर्नेहरूभन्दा त्यसमा लाग्ने खर्च अनाथालयलाई दान दिनेहरूलाई बढी धर्म लाग्छ भन्ने यो स्तम्भकारको मान्यता हो । तर यसको अर्थ पूजाआजा, बर्थडे पार्टी गर्नै हुँदैन भन्न खोजेको चाहिँ अवश्य होइन । पूजाआजा र बर्थडे पार्टीमा धेरै खर्च गर्न सक्नेहरूले सत्कर्मलाई पनि साथसाथै नसम्भिmने हो भने तिनलाई धर्म होइन, बरु पाप लाग्छ भन्नमात्र खोजिएको हो ।

यो स्तम्भकार संलग्न कल्याणकारी कामहरूका लागि धेरै सामान्य नेपालीहरूले सघाएका छन् । तर सन्दर्भ मिल्दोजुल्दो भएकोले एउटा सहयोगका बारे भने यहाँ उल्लेख गर्न उपयुक्त सम्भिmएको छु । पत्रकार ध्रुवहरि अधिकारी उनका अधिकांश सहधर्मीजस्तै एकजना मध्यमवर्गीय पत्रकार हुन् । एकदिन उनले १० हजार रुपैयाँको चेक लेखाएर मेरो हातमा थमाइदिए र भने, 'यो मेरा पिता नन्दहरि उपाध्याय 'ओखलढुङ्गे'को सम्झनामा ।' त्यतिमैं म औधी खुसी भइसकेको थिएँ, तर त्यसको केही दिनपछि एकजना मित्रबाट थाहा पाएँ, अधिकारीले गरिब-गुरुवाहरूलाई सस्तो र सुलभ शिक्षा उपलब्ध गराउने काठमाडौंको जोरपाटीस्थित समता स्कुललाई पनि त्यसैगरी एक लाख रुपैयाँ दान दिएका रहेछन् । मेरो व्यक्तिगत परिचय नभएका र कतै उल्लेख नगरिएका अन्य कैयौं नेपालीहरू होलान्, जसले अधिकारीले जस्तै परलोक भएका आफन्तहरूको सम्झनामा कैयौं सत्कार्यहरू गरेको हुनुपर्छ ।

केही धनाढ्य नेपाली व्यापारीहरूले आफन्तहरूको सम्झनामा ठूलठूला कल्याणकारी कामहरू पनि गरेका छन् । कतिपयलाई आफ्नै नाममा पनि कल्याणकारी कामहरू गर्ने इच्छा हुन्छ । धेरैले त्यस्तो कामलाई 'नामको लागि गर्‍यो' भनेर व्यङ्ग गर्ने गर्छन् । अरूले नामको लागि राम्रो काम गरेको देखेर ईष्र्या लाग्छ भने आफूले पनि त्यसै गरे भइहाल्यो । हालै वरिष्ठ जलस्रोतविद रत्नसंसार श्रेष्ठले एउटा भिन्नै प्रसंगमा यो स्तम्भकारलाई एउटा इमेल लेख्दा लेखेका थिए, 'उनलाई आफ्नो सम्पत्तिबाट आफ्नै नाममा एउटा स्तरीय शैक्षिक संस्था खोल्ने रहर छ । त्यसो गर्दा मलाई कतिपयले घमन्डी भन्लान्, तर म मेरो नाममैं त्यस्तो संस्था खोल्न चाहन्छु, ताकि अरूले ईष्र्याकै कारणले भए पनि त्यस्तै काम गरुन् ।' जवाफमा मैले उनलाई लेखेँ, 'राम्रो काम हुन्छ भने त्यसमा तपाईंको नाम रहेर केही पनि फरक पर्दैन । राम्रो कामले मात्र समाजमा राम्रो तरङ्ग सिर्जना गर्न सक्छ ।' श्रेष्ठले व्यापारिक उद्देश्यका लागि त्यस्तो संस्था खोल्न खोजेका होइनन् भन्ने यो स्तम्भकारको बुझाइ छ ।

राम्रो कामले मात्र समाजमा राम्रो तरङ्ग सिर्जना गर्न सक्छ भन्ने कुराको अर्को ज्वलन्त उदाहरण, केही वर्षअघि चितवन र नवलपरासीका महिलाहरूले विधवाहरूले पनि रातो लगाउन सक्छन् भनी सुरु गरेका अभियान हो । सो अभियानमा अत्यन्त पुरातनवादी र परम्परागत ठानिन सक्ने वृद्धाहरूले पनि आफ्ना विधवा बुहारीहरूलाई रातो पहिराइदिए । कति विधवाहरूले पुनः विवाह पनि गरे । त्यो समाज सुधार्ने सकारात्मक अभियानको प्रभाव अन्य जिल्लाहरूमा पनि परेको थियो । तर अहिले सो अभियान सुस्ताएको छ । त्यसलाई फेरि महिलाहरूले नै अगाडि बढाउनेछन् भन्ने आशा गरौं ।

माथि चर्चा गरिएका प्रसंगहरूको पृष्ठभूमि र गायत्री भट्टराईको काम र सोच बारेको समाचार पढेपछि, लामो समयदेखि यस स्तम्भकारले आफ्नी श्रीमतीलाई भन्दै आएको एउटा प्रसंगलाई यहाँ उठाउन प्रेरणा मिलेको छ । धेरैले तरूनै छँदा मृत्युको चर्चा गर्न अनुपयुक्त सम्झेलान्, तर मृत्यु आखिर मृत्यु हो, त्यो जतिबेला पनि आउन सक्छ । त्यसैले मृत्युको सामना गर्न मानसिक रूपमा सदा तयार रहनु र त्यससँग सम्बन्धित व्यावहारिक र आध्यात्मिक पक्षहरूका बारे स्पष्ट रहनु बुद्धिमत्तापूर्ण हुन्छ । यसै सोचका कारण मैले आफ्नी श्रीमतीलाई दुईवटा कुरा जोडदार रूपमा भनेको छु । पहिलो, म मरेपछि कुनै हालतमा सेतो लगाएर, दुःखमनाउ गरेर नबस्नु । रातो लगाउन नछोड्नु । मरण जीवनको सामान्य नियम हो, त्यसलाई त्यही रूपमा ग्रहण गर्नुपर्छ र म उमेर छँदै मरे भने एक्लो जीवन अत्यन्त पीडादायी हुनसक्छ, त्यसैले कुरा बुझ्ने, मन मिल्ने साथी भेटेमा पुनः विवाह गर्नु, कसले के भन्ला भनेर नसोच्नु । दोस्रो, मृत्युपर्यन्त मेरा अङ्ग र शव दानका लागि म छिटै आवश्यक व्यवस्था मिलाउनेछु, जसबाट एकजना दृष्टिविहीनले आँखा देखोस्, कसैको मृगौला प्रत्यारोपण होस्, मेरा अङ्गहरू जेजति प्रयोग हुनसक्छ, सबै प्रयोग होस् र बाँकी शवबाट चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूलाई फाइदा पुगोस् । मेरा अङ्ग र शव इच्छाएको संस्थालाई जिम्मा लगाएर अन्त्येष्टिको न्युनतम रीत पुरा गरेपछि, मेरो आत्माको चिरशान्तिको कामना गर्दै घर फर्किनु र भोलिपल्टदेखि सामान्य जीवनलाई निरन्तरता दिनु ।

मेरो छोरालाई पनि सेतो पहिरन लगाउन लगाएर, १३ दिनसम्म किरिया बस्न लगाउँदै गौदान र पिण्ड दान गरेर खर्च नगर्नु । जो त्यसो गर्न चाहन्छन्, तिनको भावनालाई सम्मान गर्नुपर्छ, तर आफूचाहिँ 'ओहो' त्यसो गर्दा आफन्त र वरिपरिकाले के भन्लान् भनेर नसोच्नु । सोच्नु, त्यसो भन्नेहरूले धर्ममा वास्तविक अर्थ र परम्परामा निहित लचकतालाई बुझेका छैनन् । मेरो

मृत्युपछि हुने सम्पूर्ण खर्चमा सकेको जति थपेर मैले ८ देखि १० कक्षासम्म पढेको दार्चुलाको खलङ्गास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयलाई चन्दा दिनु ।

माथि उल्लेख गरिएका कतिपय विचारहरू मैले मेरो बुबाबाट सिकेको हुँ । तर गायत्री भट्टराईले मलाई थप राम्रो कुरा सिकाएकी छिन् । त्यसैले मेरो मृत्यु-इच्छामा अर्को एउटा चाहना पनि थपिहालौं ः हरेक वर्ष मेरो वाषिर्कीमा, श्राद्ध होइन, सकिन्छ भने सानै किन नहोस्, परोपकारी काम गरिदिनु । एकजनाको मृत्यु हुँदा अर्को एकजनाको भलाइ हुने काम गर्दा नै मृत्तकको आत्माले चिरशान्ति पाउला र बाँचेका आफन्तहरूलाई पनि धर्म होला भन्ने यो स्तम्भकारको ठम्याइ हो । एउटा दूर गाउँकी गायत्री भट्टराई 'परम्परा र धार्मिक मान्यतामा समयसापेक्ष सुधारका' लागि परिवर्तनकारी कदम उठाउन सक्छिन् भने हामी जति पढेलेखेका र देखेसुनेकाहरूले त समाज सुधारका लागि अझ धेरै गरेर देखाउनुपर्ने होइन र ?



rabindra.helpnepal@gmail.com

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा