दृष्टिकोण»
सीमा र असुरक्षा
२०६६ कार्तिक १७ - दाङ, बाँके बर्दिया, कैलाली र कन्चनपुर जिल्लासँग सीमा जोडिएका सुरक्षा अधिकारीले भारतीय समकक्षी समक्ष परम्परा निर्वाह गर्दै सीमा सुरक्षा बैठक सम्पन्न गरेका छन् । साविक पिलर उखेलेर फाल्ने र सीमा मिच्ने जस्तो राष्ट्रिय असुरक्षा उत्पन्न गर्ने कामले निरन्तरता पाइरहेका बेला भएका बैठकमा दुवै पक्षले यो विषयमा अपेक्षाकृत चासो देखाएनन् ।
एक सताअघि बर्दियाको ठाकुरद्वारा र भारतको पलियामा भएका ती बैठकमा सीमा स्तम्भ निर्माण गर्ने भन्ने
कुरामा दुवैपक्ष सहमत भए पनि सीमा मिच्नेलाई कस्तो सजाय दिने भन्ने प्रसङ्गसमेत उठेन । बरु भारतीय सुरक्षा अघिकारी नेपालगन्ज हुँदै बर्दिया राष्ट्रिय निकुन्जभित्र जहाँ नेपाली सेनाको समेत निगरानी हुन्छ त्यहासम्म हतियारसहित
पुगे । हतियारसहितको यस्तो 'मार्च' अन्जान भएको थिएन । यो जानाजान गरेको हेपाहा र मिचाह प्रवृत्तिको उदाहरण हो ।
अर्कातिर सुरक्षा दायरा र कूटनीतिक मर्यादा मिच्दै हतियार बोकेर सय किलोमिटरभित्र पसेका समकक्षीलाई रोक्न नचाहनुले नेताहरूझैं नेपाली सुरक्षा अधिकारीसमेत उनीहरूप्रति कति नतमस्तक रहेछन् भन्नेे प्रमाणित गरेको
छ । त्यसमाथि ठाकुरद्वारा बैठकमा भारतीय सुरक्षा अधिकारीले नेपालगन्जमा मारिएका स्थानीय व्यापारी मजिद मनिहार हत्याको घटनामा संलग्नलाई खोज्ने र सजाय दिनेतिर भन्दा मारिनुलाई उपयुक्त संकेत गर्दै सीमा अपराध र अपराधीलाई प्रश्रय दिने खालको धारण प्रस्तुत गरेका छन् ।
भारतीय नम्बरको मोटर साइकलमा आएका दुई व्यक्ति होटलको कोठामै गोली हानेर फरार भएका थिए । भारतीय अधिकारीले घटनालाई जाली नोट र आइएसआईको गतिविधिसँग जोडेका छन् । हत्यारा नेपालभित्र हतियारसहित आउनु र हत्या गरी फरार हुनुलाई उनीहरू जायज ठान्छन् । उक्त हत्याको घटना सीमा बैठकको एजेन्डा थिएन । तर भारतीय अधिकारीले बैठकमा यो मुद्दालाई घुमाउरो ढंगले उठाएका हुन् ।
भदौ महिनामा नेपालगन्जबाटै कमलसिंह ठाकुरलाई एक भारतीयसहित दुई जनाले सीमापारि लगी बेपत्ता परेका छन् । सुरक्षा दिनुपर्ने नेपाल प्रहरीले यो घटनामा संलग्नलाई जोगाउन लागेको आफन्तहरू बताउँछन् ।
सीमापारिबाट हतियारसहित आई हत्या गर्ने वा अपहरण गर्ने कार्यामा संलग्नलाई पक्राउ गरी सजाय दिलाउने पक्षमा बैठकमा प्रसङसमेत उठेन । यसको करण के हुन सक्छ ? राजनेताझैं बिक्ने प्रवृत्ति वा राष्ट्रिय सुरक्षाप्रतिको बेवास्ता ? बाहिरका अपराधीले आफ्ना नागिरकको ज्यान लिइसक्दा पनि सुरक्षा निकायले सुइँकोसम्म पाउँदैन ।
सुरक्षा दृष्टिले राष्ट्र र राष्ट्रियता पहिलो प्राथमिकता हुन पर्ने हो । तर पिलर बनाउने २५-३० हजार रुपैयाँ नहँुदा सीमा मिचने गरेको छ ।
सानो गोष्ठी उदघाटनाका लागि काठमाडौंबाट हेलिकप्टरमा लावा लस्करसहित हजारांै रकम उलब्धिविहीन ढंगले उडाउँदै हिँड्नसक्ने राजनेताहरू भत्केका, नदीले बगाएका वा अन्य कुनै कारणले हराएका पिलर निर्माण गर्न चाहिने बजेटसमेत प्रशासनलाई दिन चाहँदैनन् । सीमा सुरक्षा बैठकमा
पिलर बनाउन चाहिने बजेटका बारेमा समेत कुरा उठेन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाले राष्ट्रिय सुरक्षामा सरकारी पक्षको बेवास्ताले सीमा मिचिएको खुलासा गर्दै भने, पिलर बनाउने बजेट नहुँदा कैलालीमा सीमा मिचिएको छ ।
भजनी र लालबोझी गाविसको बीचमा मोहना नदीले सीमा स्तम्भ बगाएपछि बजेट अभावका कारण पिलर बनाई सहयोग गर्न भारतलाई आग्रह गरिएबमोजिम १०९ ए नम्बरको पिलर साविक सीमाभन्दा २ सय मिटर उत्तर गाडेर सीमा मिचेका छन् । यससम्बन्धी जानकारी गृहमन्त्रालयलाई कैलाली प्रशासनले दिएको छ तर सुरक्षाको जिम्मा लिएको प्रशासनसँग पिलर भत्क्यो भने बनाउने बजेट छैन ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल पैसा अभावमा सीमा मिचिएको दाबी स्वीकार भने गर्दैनन् । तर उनले जिल्लाको १ सय १ किलोमिटर क्षेत्रका २ सय ८२ सहायक सीमा स्तम्भ मध्ये ९२ स्तम्भ हराएको जानकारी दिए । भारतीय पक्षले सीमा मिचेर गाडेको कतिपय स्तम्भलाई नेपालीले भत्काइदिएका छन् । नोभेम्बरमा काठमाडौंमा हुने सीमा सुरक्षासम्बन्धी दुई पक्षीय उच्चस्तरीय बैठकमा यस्ता मुद्दामा हाम्रा सुरक्षा निकाय प्रमुख र राजनेताहरू परम्परा दोहोराउने ढंगले प्रस्तुत नहोउन् । राष्ट्रिय सुरक्षा मामिला कतैबाट उपेक्षित नहोस् ।












