पाठक पत्र»
पाठक मञ्च
२०६६ कार्तिक १७ - चित्त बुझेन
ज्ानआन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नका लागि राष्ट्रिय पार्टीहरूले जतिसुकै सहमतिकोे कुरा गरे पनि संविधानसभाको मूलकार्य संविधान निमार्ण प्रक्रिया ओझेलमा परेको छ । सरकार बनाउने र ढाल्ने खेलमा तल्लिन दलहरूले एक अर्कामाथि दोषारोपण गरिरहनु देशका लागि शुभ संकेत होइन । त्यसैले अब यस्ता संकीर्ण मानसिकता त्यागेर सबै जना देश विकासमा लम्कनुपर्छ । अधिकार र पहिचानको माग राखी सरकारमा सहभागी मधेसी राजनीतिक दलहरूको भूमिका केवल सत्ता प्राप्तिका लागि मात्र देखियो । जुन चित्त बुझ्दो भएन ।
- रोशनकुमार झा
गौर, रौतहट
आक्षेप समाधान होइन
गगन थापाको सोमबार प्रकाशित लेख पढें । जनताको कष्टकर जीवन, बढ्दो सामाजिक असुरक्षा, असमवेदनशील राज्य छ भने काम गरेर देखाए भयो
नि ! आफ्नै पार्टी सत्तामा छ । आफैं सत्तामा बसेर देशमा यस्तो भयो उस्तो भयो भनेको सुहाएन नि सभासद्ज्यू । माओवादीले अराजक कार्य गर्दै छ भने कारबाही गरेर देखाउन सक्नुपर्यो । २००७ देखि पटकपटक सत्ताको भागेदार तपाईंको पार्टीले देशलाई यो दूरदशामा पुर्याउने काम गरेको छ, एकले अर्कालाई नङ्गयाउने काम बन्द गर्नुस् । आफ्नै पार्टीबाट सरकारमा गएका मन्त्रीलाई देख्नुभएको छ कि छैन ?
- वसन्त
वर्दिया
लोकतन्त्रका बफादार
हरि रोकाको 'असहमति, आन्दोलन र भयावह संकट' -कात्तिक १०) लेख पढेर केही लेख्न मन
लाग्यो । 'राजनीतिमा शिष्टता, भद्रता, विश्वास, परस्पर सद्भाव र सहयोगको प्रत्येक दिन हत्या भइरहेको छ, जब राजनीतिक दलहरू अराजनीतिक हुन्छन् तिनले मुलुकका लागि केही पस्कन सक्दैनन् ।'
वर्तमान सरकारलाई इसारा गर्दै उहाँ लेख्नुहुन्छ, 'बलकै आधारमा सत्ता कब्जा गर्न चाहन्छन्, सरकार गठबन्धनका राजनीतिक दलहरू धेरै समयदेखि अराजनीतिक नै थिए ।' यो वाक्यमा मलाई प्रतिप्रश्न गर्न मन लाग्यो । त्रिभुवन विश्वविद्यालयबाट सुरु भएको अखिल क्रान्तिकारीे ज्यादतीको पराकाष्ठा भोजपुर बहुमुखी क्याम्पसका क्याम्पसप्रमुखको टाउकोमा २६ टाँका लाग्नु माओवादीको राजनीतिक प्रवृत्ति हो या अराजनीतिक ? त्यस्तै माओवादी नेतागणहरू रत्नपार्कमा नागरिक सर्वाेच्चताको नारा घन्काउँदै गर्दा बालाजुमा वाइसिएल कार्यकर्ता सर्वसाधारणमाथि हमला गर्नमा व्यस्त देखिनु नागरिक सर्वाेच्चता हो या माओवादी सर्वाेच्चता ? उहाँ आफैं धम्कीको भाषामा भन्नुहुन्छ माओवादी त सेना भएको पार्टी । अरूलाई बलका भरमा सत्ता कब्जा गर्न खोज्ने भन्नुहुन्छ । के यस्ता माओवादी लोकतन्त्रका बफादार लडाकु हुन सक्लान् ?
- दीपेश भेटुवाल
थानापति-५, नुवाकोट
व्यवस्थापनको उपाय
उपत्यकाको फोहर अहिलेको जटिल समस्या हो । व्यवस्थापनको नाममा फोहर फ्याक्ने स्थान पहिचान गर्ने र थुपार्ने काममात्र भएको छ । दीर्घकालीन योजना नबनाउनु, रचनात्मक उपायहरू अवलम्बन नगर्नु र फोहर वर्गीकरण नगर्नु नै व्यवस्थापनको मुख्य समस्या हो ।
प्रथमतः फोहरको प्रकृति छुट्टयाउनु पर्छ । फोहर तीन प्रकारका हुन्छन् ः
-१) जैविक फोहर, -२) अजैविक फोहर
-क) पुनः प्रयोगमा आउने, -ख) नआउने
जैविक फोहर सहज तरिकाबाट व्यवस्थापन गर्न कृषि विभागसँग समन्वय गरी जैविक मल बनाउन सकिन्छ । प्रभावकारी योजना बनाई जैविक मल बनाएमा आर्थिक आम्दानीका स्रोत थपिनेछन्, यसबाट जनशक्ति व्यवस्थापनमा पनि सहयोग हुनेछ । यसको प्रगोगबाट कृषि उत्पादन गुणस्तरीय हुनुका साथै उत्पादन वृद्धि हुन्छ । वातावरणीय सन्तुलन तथा प्रतिकूल प्रभाव रोक्ने कार्यमा समेत सहयोग पुग्छ ।
अजैविक फोहरलाई पुनः प्रयोगमा आउने र नआउने गरी छुट्टाउनु पर्छ । पुनः प्रयोगमा ल्याउन प्रशोधन केन्द्रको व्यवस्थापन गरी अथवा निजीक्षेत्रसँग सहकार्य गर्न सकिन्छ । पुनः प्रयोगमा नआउनेलाई निश्चित स्थानमा खाडल खनेर व्यवस्थापन गर्न वा बिजुली निस्कने सम्भाव्यता पनि अध्ययन गर्न
सकिन्छ । गैरसरकारी संस्था तथा निजी क्षेत्रको समेत सहभागितामा दीर्घकालीन योजना बनाई
अघि बढ्न सकिन्छ । आवश्यक परे ऐन-नियममा परिर्माजन गर्नु पर्छ । यसमा दीर्घकालीन सोच, उत्साह, इच्छाशक्ति तथा दायित्वबोध आवश्यक छ ।
- मधु पोखरेल -अग्नी किशोर)
सोमादी-८, पाल्पा
कमिसन मोह
निजी विद्यालय/कलेजहरूले ड्रेस तथा पुस्तकहरू खुला बजारमा मोलतोल गरेर किन्न नदिई आफैंले तोकेको निश्चित पसल वा विद्यालयबाटै अनिवार्य रूपमा किन्नुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना गर्दै आएका छन् । त्यसरी तोकेका पसलहरूले मनपरि मूल्य लिने, कम गुणस्तरको सामान दिने, साइज-नाप नमिलाई कपडा सिलाइदिने र समयमै सामान नदिने गरेका छन् । सामानवापतको मोल महिनौं अगाडि लिएर समयमै गुणस्तरयुक्त सामान नदिने, विद्यालयहरूबाट आफूले सक्नेभन्दा धेरै सामान उपलब्ध गराउन ठेक्का लिने, पि्रन्सिपललगायतका व्यक्तिहरूलाई मोटो रकम कमिसनका रूपमा दिने गरेकाले अभिभावकको जति नै गुनासो आए पनि त्यसमा विद्यालयले चासो दिएको पाइँदैन । यस्तो कार्यले अभिभावकहरूमा वितृष्णा उत्पन्न हुन गई विद्यालयको छवीमा समेत नराम्रो असर पर्न सक्छ । जाडो सुरु भइसक्यो, जाडोमा लगाउन नपाउने कोट र स्वेटरको जाडोपछि के-काम ? कि चैत्र-वैशाखमा लगाउने ? समयमै काम नसक्नेलाई विद्यालयले किन ठेक्का दिनु ? विद्यालयका जिम्मेदार व्यक्तिहरूको काम भनेकै कमिसनमात्रै खाने हो कि अभिभावकहरूको गुनासो सुन्ने र समाधान गर्ने पनि हो ?
- रूपा भट्ट
अनामनगर, काठमाडौं
कुशलको कुशलता
कुशल केसीले बनाएको सोलार कारको समाचारले सबै नेपालीलाई खुसी तुल्याएको छ । उनको कुशलताले भविष्यका कर्णधार बालबालिकाको नमुना प्रतिभा प्रस्फुटन गरेको छ । 'खाने मुखलाई जुगाले छेक्दैन' भन्ने उखानलाई चरितार्थ पार्दै बालप्रतिभाको सम्मान गर्नुपर्ने कुरालाई आम जनता र सरकारसामु उनले पस्किदिएका छन् । उनको सफलताको जति प्रशंसा गरे पनि थोरै हुन्छ । राजनीतिक अस्थिरता, बन्द, अपहरण शैक्षिक हडताल र आतंकित वातावरणको देशमा एउटा स्कुल स्तरको विद्यार्थी छँदै उनले पाएको यो सफलताले वैज्ञानिक जन्माएको छ ।
देशले गौरव गर्नै पर्छ, नेपाल आमाको एउटा छोरोले प्राकृतिक धनको सदुपयोग गरेर आफ्नो क्षमताको भरपुग सदुपयोग गरेको छ । सोलार प्रयोगको कुशलताले नेपालमा मात्र होइन विश्वमा चर्चा र प्रतिष्ठा पाउने कुरामा दुइमत छैन । ऊर्जा संकटले विश्वमै संकटकाल लागेका बेला कुशलले देखाएको चमत्कारले 'ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल,' भन्ने कुरा चरितार्थ भएको
छ । शिक्षा र ज्ञानको भन्दा पनि लडाइँ र आतंकको राजनीति गर्ने राजनीतिक दल र नेतालाई प्रयोगात्मक रूपमा कुशलले नमुना पस्किएका छन् । यो नयाँ प्रयोगलाई महत्त्वका साथ समर्थन र सहयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।
- लुइँटेल दिनेश
अब के होला ?
२०४६ सालदेखि २०६६ सालसम्म आइपुग्दा नेपाली राजनीतिमा धेरै उतार चढाव देखिए । विशेषतः नेपाली राजनीति अस्थिरता र अन्योलमै मुछियो । कैयौं सरकार परिवर्तन भए तर जनताले राहत पाएनन् । सरकार शासक होइन सेवक बन्नुपर्छ । आम नेपालीको चाहना यही नै हो तर सरकारले आफू सेवक नभएर शासक रहेको चरित्र बारम्बार देखाइनै रह्यो । जनतालाई अचानो बनाएर पार्टीहरू आपसमा लडिबुडी गर्न थाले । संविधानसभाको चुनावमा बहुमत पाएर अग्रस्थानमा आएको दल नेकपा माओवादीले समेत जन अपेक्षालाई कुल्चिएर दलीय स्वार्थ पूरा गर्न विद्रोह मच्याइरहेको छ । आफ्नो स्वार्थमा जनताको नाम जोडेर सस्तो लोकपि्रयता कमाउन राजनीतिक दल र नेता कोही पनि पछि परेनन् । कहिले जन क्रान्ति, कहिले जन विद्रोह, कहिले जन गणतन्त्र, कहिले जनाधिकार त कहिले जन आन्दोलन । सेनापति प्रकरण पछि राजीनामा दिएर राष्ट्रपतिको कदम सच्चिनुपर्ने मागलाई प्रमुख एजेन्डा बनाई, नागरिक सर्वोच्चताको भाषण दिँदै असंवैधानिक तवरबाट आफ्नै दलको नेतृत्वमा सरकार बनिनु पर्नेमा नेकपा माओवादी लिंडेढिपी गरिरहेको
छ । शीर्षस्थ नेताहरूले जति बैठक गरे पनि समाधान आएन । माओवादीले सदन अवरुद्ध गरी जनतामाझ त्रास फैलाइनै रह्यो ।
संविधान निर्माणको समय छोटिँदै जाँदा जनप्रतिनिधि केही स्तब्ध छन् त केही उग्र प्रतिशोध र प्रतिगमनमा उत्रिएका छन् । इतिहासको यो काल खण्ड नेपाली राजनीतिको लागि सुखद क्षण भने पक्कै होइन । आज लोकतन्त्रको मर्ममाथि नराम्रो प्रहार भएको छ । जनतालाई ठूलो आश थियो, माओवादीको सरकारले देशमा पक्कै केही गर्छ, गर्न त गर्यो तर जन अपेक्षाविपरीत । उति बेला नैतिकताको आधारमा राजीनामा दिएँ भनेर गर्व गर्ने माओवादी यतिबेला आफ्नै शासन कायम गर्न किन यस्तो खेल खेलिरहेको छ ? पद र सत्ताको यति ठूलो मोह थियो त उतिबेला किन राजीनामा दियौ ? अब नेपालको राजनीतिले कस्तो बाटो समाउने हो सबैको चासोको विषय बनेको छ । हेरांै अब के हुने हो ?
- साजना गौतम












