खेलकुद»
रूपक र टासीको कमजोर सुरुआत
काठमाडौं, २०६६ कार्तिक १७ - मास्टर्स गल्फ फेसन हङकङ ओपन एमेच्योर एन्ड मिड एमेच्योर ओपन गल्फ च्याम्प्ियनसिपको पहिलो दिन मंगलबार नेपाली खेलाडीद्वय रूपक आचार्य र टासी घलेले कमजोर प्रदर्शन गरेका छन् ।
हङकङको डिस्कोभरी वे गल्फ क्लबमा नेपाली नम्बर-एक एमेच्योर रूपकले १५ ओभर ८६ को बिर्सनलायक कार्ड बनाए । पार ७१ को कोर्समा तेस्रो वरीयताका नेपाली टासीले पनि राम्रो खेल्न सकेनन् र १८ ओभर ८९ स्कोर
गरे । हङकङका दुई खेलाडीसँगै ओभरअलमा रूपक ६० औं स्थानमा रहे । जम्मा ८३ सहभागीमध्ये हङकङका दुई र क्यानडाका एक खेलाडीसँगै टासी ६८ औं स्थानमा अटाए । एक ओभर ७२ स्कोर गर्दै हङकङका वु विन्स्टोन, अस्टे्रेलियाका डानिएल निस्बेट र सिंगापुरका झी कुन लाम संयुक्त शीर्ष स्थानमा छन् ।
संयुक्त रूपमा पहिलो दिन कुल ३३ ओभर १ सय ७५ स्कोर गरेका रूपक र टासी टिम इभेन्टमा हङकङको एक टिमसहित दसौं अर्थात् अन्तिम स्थानमा संयुक्त रूपमा रहे । चार ओभर १ सय ४६ खेल्दै सिंगापुर टिम इभेन्टको पहिलो स्थानमा छ ।
हङकङका एक-एक खेलाडीसँगै ओपन एमेच्योरतर्फ रूपक ४९ औं र टासी ५५ औं स्थानमा छन् । मिड एमेच्योर स्पर्धामा अवसर पाएका टासी त्यसमा क्यानडाका एक र हङकङका दुई खेलाडीसँगै संयुक्त ३३ औं स्थानमा छन् । ओपन एमेच्योरमा ७६ र मिड एमेच्योरमा ४४ खेलाडी सहभागी छन् ।
नोभेम्बर १ सम्म चीनको सेन्जेन एसियन एमेच्योर ओपन च्याम्पियनसिपमा सहभागी भई रूपक सीधै हङकङ पुगेका हुन् । सेन्जेनमा दोस्रो वरीयताका नेपाली वान्चेन धोन्डुपले पनि प्रतिस्पर्धा गरे पनि दुवैले कट मिस गरेका थिए ।












