खेलकुद»
प्रतिष्ठाको लडाइँमा नेपाल
काठमाडौं, २०६६ कार्तिक १७ - एएफसी यू-१९ च्याम्पियनसिप समूह 'ए' मा नेपालले दशरथ रंगशालामा बुधबार प्यालेस्टाइनको सामना गर्दा त्यसको नतिजाले छनोटमा कुनै निणर्ायक प्रभाव पार्ने छैन । दुवै टिम छनोटको समीकरणबाट बाहिरिसकेका छन् । तर दुवै टिमका लागि यो प्रतिष्ठाको विषय हुनेछ । नेपाल सकारात्मक नतिजासँगै प्रतियोगितालाई सुखद अन्त्य दिने मनसायमा हुनेछ ।
'हामीले अन्तिम खेललाई पनि उत्तिकै महत्त्व दिएका छौं,' प्रशिक्षक राजु शाक्यको भनाइ छ । छ टिम सम्मिलित छनोटमा नेपाल चौथो स्थानमा छ र टिमका लागि यसमा कायम रहनु सफलता
हुनेछ । नेपाल तीन अंकमा चौथो स्थानमा छ । समान अंक भए पनि गोल अन्तरमा किर्गिस्तान पाँचौं स्थानमा छ । पुछारमा रहेको प्यालेस्टाइनले एक अंकमात्र बटुलेको छ ।
'अहिलेसम्म छनोटमा हामीले केही राम्रा खेल खेल्यौं । केही नराम्रा पनि रहे,' प्यालेस्टाइनका प|mान्सेली प्रशिक्षक मुसा बेजाजको विश्लेषण छ, 'विशेषतः किर्गिस्तानविरुद्धको खेल हाम्रा लागि बिर्सनलायक रह्यो । अब हाम्रो लक्ष्य नेपालविरुद्ध राम्रो खेल्ने हुनेछ ।' प्यालेस्टाइनले यमनविरुद्ध प्रभावशाली बराबरी निकालेपनि त्यसलाई अरू खेलमा दोहोर्याउन सकेको छैन ।
नेपालले भने यमनविरुद्धको पहिलो प्रतिस्पर्धामा खराब प्रदर्शन गरेयता सुधारिएको खेल देखाएको
छ । नेपालले किर्गिस्तानलाई हराएपछि ताजकिस्तान र जोर्डनविरुद्ध भने हार बेहोरेको
थियो । यद्यपि दुवै हारमा नेपालको चुनौती प्रभावशाली थियो । 'पछिल्ला दुई खेलमा हार बेहोरे पनि प्रदर्शनका आधारमा म सन्तुष्ट छु,' प्रशिक्षक शाक्य मान्छन्, 'राम्रो प्रदर्शनलाई कायम राख्नुपर्छ ।'
छनोटको अन्तिम दिनका अन्य खेलमा ताजकिस्तानले जोर्डन तथा यमनले किर्गिस्तानको सामना गर्नेछन् । छनोट हुने दुई टिम र उत्कृष्ट तेस्रो स्थानमा रहने टिमको निर्णय नभइसकेको हुँदा दुवै खेल उत्तिकै महत्त्वपूर्ण हुनेछन् । जोर्डन १० अंकसहित शीर्ष स्थानमा छ भने ताजकिस्तान नौ अंकमा दोस्रो तथा यमन आठ अंकमा तेस्रोमा छन् ।
तीनै टिमसामु शीर्ष दुई स्थान हात पार्ने अवसर हुनेछ । प्रारम्भिक तीन खेल जितेर सानदार सुरुआत लिएको ताजकिस्तानले यमनविरुद्ध तीन गोलको हार बेहोरेपछि छनोटनजिक पुगेर पनि स्तब्ध हुनुपरेको थियो ।
यस्तोमा ताजकिस्तान र जोर्डनबीच हलचोक मैदानमा हुने खेलमा सबैको आँखा पर्नेछ । यमनले भने किर्गिस्तानमाथि सकारात्मक नतिजा निकाल्न सक्ने अपेक्षा छ ।
संयमित हुन आग्रह
काठमाडौं- अखिल नेपाल फुटबल संघ -एन्फा) ले प्रेस विज्ञप्ति जारी गर्दै बुधबार नेपाल र प्यालेस्टाइनविरुद्धको खेलमा नेपाली दर्शकलाई संयमित हुन आग्रह गरेको छ । आइतबार नेपाल र जोर्डनबीचको खेलमा दर्शकले प्रहार गरेको कंक्रिटको टुक्राले लाइन्सम्यान साकुर हैदर घाइते भएका थिए । मंगलबार
जारी विज्ञप्तिमा त्यस घटनालाई एन्फाले दुःखद र दुर्भाग्यपूर्ण मानेको छ ।
त्यस घटनालाई लिएर प्रतियोगिताको म्याच कमिसनर रहेका माल्दिभ्सका अहमद सहिरले प्रारम्भिक प्रतिवेदन एसियाली फुटबल महासंघ -एएफसी) लाई पठाएका छन् । उनले खेलको भिडियो रेकर्डिङ पनि मगाएका छन् । खेलका क्रममा जोर्डनी प्लेयर-बक्समा रहेका खेलाडी पनि घाइते भएका थिए । उनको आँखामाथि चोट लागेको थियो ।
ती खेलाडी नेपाली दर्शकले प्रहार गरेको वस्तुबाट घाइते भएको जोर्डनी पदाधिकारीहरूले दाबी गरेका थिए । तर भिडियो रिप्लेमा गोलको खुसियाली मनाउने क्रममा साथी खेलाडीसँग जुध्दा उनी घाइते भएको पुष्टि भएको छ । सहिरले बुधबार उपस्थित दर्शकका आधारमा थप निर्णय गर्न सक्नेछन् । उनले कम्तीमा पौडी पोखरीतर्फको दर्शकदीर्घामा खाली राख्ने मनसाय बनाएको बताइएको छ ।












