अर्थ/वाणिज्य»
६९ ठूला करदाता थपिए
काठमाडौं, २०६६ कार्तिक १७ - व्यावसायिक वातावरणमा सुधार हुन नसके पनि ठूला करदाता भने बढेका छन् ।
ठूला करदाता कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा करदाता संख्या २१ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०६५/६६ मा ठूला करदाता संख्या ३ सय ९६ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ३ सय २७ थियो ।
वाषिर्क २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनी ठूला करदाता हुन् । यिनको कर संकलन गर्न सरकारले छुट्टै कार्यालय स्थापना गरेको छ ।
करदाताको संख्यामा भएको वृद्धिसँगै कार्यालयले पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । गत वर्ष २३ अर्ब ३८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य थियो । २३ अर्ब ७० करोड रुपैयाँ असुली भएको कार्यालयले जनाएको छ ।
यस वर्षको पहिलो त्रैमासिकको राजस्व संकलन पनि उल्लेख्य रहेको कार्यालयका प्रमुख खेमराज पुँजालीले जानकारी दिए । पहिलो तीन महिनामा ४ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । लक्ष्य भने ३ अर्ब ६१ करोड रुपैयाँ थियो । 'मूल्य अभिवृद्धिकर असुलीमा भएको उल्लेख्य वृद्धिले लक्ष्य नाघ्न सहज बनायो,' पुँजालीले भने । यस अवधिमा मूल्य अभिवृद्धि कर २ अर्ब ८८ करोड रुपैयाँ असुली भएको
छ । लक्ष्य २ अर्ब ४० करोड
रुपैयाँ थियो ।
यसैगरी ८५ अर्ब रुपैयाँ लक्ष्य रहेकामा आयकर भने १ अर्ब १ करोड रुपैयाँ असुली भएको छ । गत वर्ष राजस्वका अन्य स्रोतको असुली लक्ष्यभन्दा बढी भए पनि मूल्य अभिवृद्धि कर भने कम उठेको थियो ।
असुली बढाउन कार्यालयले नयाँ कार्यक्रम ल्याउने पनि पुँजालीले जानकारी दिए । 'अहिले बजार अनुगमनलाई तीव्रता दिएका छौं,' उनले भने । सबैभन्दा धेरै राजस्व तिर्ने कम्पनीको सूचीको अग्रस्थानमा नेपाल टेलिकम छ । दास्रो नम्बरमा निजी क्षेत्रकै स्पाइस नेपाल र तेस्रोमा गेर्खा ब्रुअरी छ । सूचीमा वाणिज्य बैंकहरू ६ देखि १० नम्बरसम्म छन् ।












