अर्थ/वाणिज्य»
पहिलोपटक वित्तीय संस्था गाभिए
काठमाडौं, २०६६ कार्तिक १७ - नेसनल र नारायणी फाइनान्स मर्ज भएर नारायणी नेसनल फाइनान्स बनेको छ । मंगलबार कार्यक्रम आयोजना गरी मर्जरको घोषणा गरिएको हो ।
यससँगै नेपाली वित्त क्षेत्रमा पहिलोपटक दुई छुट्टाछुट्टै संस्थापक रहेका कम्पनी एकआपसमा गाभिएका छन् । 'दुई वर्ष लामो प्रयासपछि सफल भएका हौं,' वित्त कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले भने । कमजोर वित्तीय अवस्थाका कारण नभएर क्षमता वृद्धिका लागि मर्ज गरिएको सञ्चालकहरूले बताए । गत आर्थिक वर्ष नेसनलले ६ करोड २ लाख र नारायणीले ४ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
मर्ज भएपछि नयाँ कम्पनीको चुक्ता पुँजी ४३ करोड ३३ लाख पुगेको छ । 'छिट्टै हकप्रद सेयर जारी गरेर विकास बैंक बन्ने योजना छ,' उनले भने, 'पूर्वाधारका लागि हामीलाई कुनै समस्या छैन ।' कम्पनीको मुख्य कार्यालय काठमाडौं र क्षेत्रीय कार्यालय चितवनमा
रहनेछ । अहिले कम्पनीका ५ शाखा छन् । 'हामीले अब थप ५ शाखा खोल्नेछौं,' मानन्धरले भने, '२ काठमाडौं र अन्य मोफसलमा हुनेछन् ।' शाखा विस्तारका साथै कम्पनीले सफ्टवेयर अपग्रेड गरेर इन्टरनेट बैंकिङ, एबिबिएस र एटिएम सेवा सुरु गर्ने जनाएको छ ।
मर्जअघिका दुई कम्पनीका तर्फबाट ३/३ जना नयाँ फाइनान्सको सञ्चालकमा नियुक्त भएका छन् । यसका साथै कम्पनीले उमेशसिंह भण्डारीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको
छ । मर्ज भएको कम्पनीले कुनै पनि कर्मचारी कटौती नभएको जनाएको छ । 'कर्मचारीलाई हामीले पहिलेकै सेवा सुविधा दिएका छौं,' मानन्धरले भने ।












