देश»
कार्यकर्ता कोष स्थापना
गुल्मी, २०६६ कार्तिक १७ - एमालेले कार्यकर्ताको संरक्षण र औषधि उपचारका लागि 'कार्यकर्ता संरक्षण कोष' स्थापना गर्ने भएको छ ।
आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशनद्वारा निर्वाचित जिल्ला समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोषका लागि अधिवेशनमा उम्मेदवारीस्वरूप उठेको र अन्य नेताले गरेको आर्थिक सहयोगसहित झन्डै ८ लाख संकलन भइसकेको एमालेले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
'पार्टी कामको सिलसिलामा कुटपिटमा घाइते भएमा वा बिरामी परेमा संरक्षण कोषको रकमबाट सहयोग गरिने छ', अध्यक्ष बोमबहादुर खडकाले भने । कार्यकर्तालाई केही भएमा पार्टीबाट ५ हजार खर्च गरी उपचार गर्न सक्ने अवस्था नभएकाले यस्तो नीति अगाडि सारिएको अध्यक्ष खडकाले बताए । एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनले पारित गरेको विधान अनुसार भएको बहुपदीय निर्वाचनमा पदाधिकारीसहित खुला क्षेत्रबाट १० जना सदस्य, भूगोलको निर्वाचन क्षेत्र २ बाट ५ सदस्य पदका लागि निर्वाचन भएको र अन्य महिला निर्वाचन क्षेत्रबाट ८ जना, जनजातिबाट ८ जना, युवाबाट ५ जना र दलितबाट ५ जना निर्विरोध भएको एमालेले जनाएको छ ।












