देश»
आधा गाविस सचिवविहीन
खोटाङ, २०६६ कार्तिक १७ - जिल्लाका झन्डै आधा गाविस सचिवविहीन भएका छन् । स्वेच्छिक अवकाश, सरुवा र दरबन्दीअनुसारका सचिव नआउँदा जिल्लाका २७ गाविस सचिवविहीन भएका हुन् ।
मन्त्रालयले खटाएका सचिव हाजिर नभएको र केही सरुवा भएर गएकाले समस्या भएको स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारीले बताए । दरबन्दीअनुसारका सचिव लोकसेवाले उपलब्ध नगराएको उनले सुनाए । जिल्लामा सदरमुकाम दिक्तेललगायत चिसापानी, काहुले, दिप्लुङ, फाक्टाङ, पौवासेरा, मौवाबोटे, बराहपोखरी, लिकुवापोखरी, सप्तेश्वरछितापोखरी, साउनेचौर, बाप्लुखा, छोरम्बु, मात्तिमबिर्ता, याम्खा, बतासे, टेम्मा, याम्खा, डाँडागाउँ, खाल्ले, दोर्पाचिउरीडाँडा, नेर्पा, दिप्सुङ, कुभिन्डे, खार्पा र ऐंसेलुखर्क गाविसमा सचिव छैनन् ।
सचिव नभएका गाविसहरूमा अन्य गाविसकाले काम चलाएका छन् । एक सचिवले चार गाविससम्मको काम भ्याउँदै आएका छन् । जिविसका अनुसार बाक्सिला गाविस सचिव होमनाथ खनालले नगरोन्मुख गाविस दिक्तेल, दोर्पाचिउरीडाँडा र खार्मी गरी चार गाविसको काम चलाएका छन् । गाविस रित्तो हुने भएकाले जिल्लाबाट अन्त सरुवा लिएका सचिवहरूलाई रमना दिइएको छैन । सचिव
नहुँदा नागरिकता, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्तालगायतका सर्वसाधारणका काम रोकिएका छन् ।












