देश»
मातृका समूहद्वारा जग्गा कब्जा
सर्लाही, २०६६ कार्तिक १७ - मातृका यादव नेतृत्वको नेकपा माओवादीले दुई दिनयता यहाँका सर्वसाधारणको ३९ बिघा जमिन कब्जा गरेको छ ।
भक्तिपुर ८ का विभिन्न व्यक्तिको १९ बिघा जमिन सोमबार माओवादी कार्यकर्ताले कब्जा गरेको घोषणा गरेका छन् । भक्तिपुरकै शंकरगन्जमा आइतबार अजय प्रधानको २० बिघा जमिन कब्जा गरेको माओबादी सेक्रेटरी सुरेश साहले दाबी गरे ।
यस वर्ष काट्ने बेला भइसकेको धान पार्टीले लिने र त्यसपछि गरिब र भूमिहीन किसानलाई जमिन वितरण गर्ने योजना रहेको साहले सुनाए । सोमबार कब्जा गरिएको जमिन तत्कालीन नेकपा माओवादीले जनयुद्ध जारी रहेकै बेला ०५८ सालमा पनि कब्जा गरेको थियो । माओवादी प्रतिस्पर्धाको राजनीतिमा प्रवेश गरेपछि जग्गाधनीले जमिनको आयस्ता लिन पाएका थिए ।
ढालफाँड गर्नेलाई झुक्याई शक्ति र पैसाको भरमा जालसाजी गरी जग्गाधनी पुर्जा लिएका कारण सही किसानलाई वितरण गर्न ती जमिन कब्जा गरिएको माओवादीको दाबी छ । कब्जा गरिएको १९ बिघा जमिनका साविक धनी स्थानीय सन्तोष गुरुङ, माधव घिमिरे, खड्ग ध्वज र चन्द्र गुरुङको भएको साहले बताए । 'साविक धनीले जमिन बिक्री गरिसकेको सुनिएको छ,' उनले भने, 'खरिद गर्ने सम्पर्कमा आएपछि साविक धनीबाट रकम फिर्ता गराई जमिन गरिब जनतालाई बाँड्छौं ।'
केही नेताले पार्टी झन्डा गाडेर जग्गा कब्जाको घोषणा गरेका थिए । जग्गा कब्जा गर्न केन्द्रीय सदस्य सुरेन्द्र, पार्टी सम्बद्ध किसान संघका पदाधिकारीलगायत सहभागी थिए । यसअघि तत्कालीन माओवादीले यो जमिन कब्जा गर्दा पनि यिनै व्यक्तिले अगुवाइ गरेको स्रोतले बतायो ।
प्रमुख जिल्ला अधिकारी बलिरामप्रसाद सिंहले केही जमिनमा झन्डा गाडेर नेकपा माओवादीले कब्जा गरेको भन्ने सूचना आफूले पाएको उल्लेख गर्दै व्यक्तिगत जमिन भएकाले जग्गाधनीले उजुरी गरे प्रशासनले कब्जा हटाई भोग चलन गराइदिने बताए ।












