क्षेत्रीय»
फलफूल पसलमा लागू पदार्थ कारोबार
काठमाडौं, २०६६ कार्तिक १७ - फलफूल पसलको आडमा लागू पदार्थको कारोबार गर्दै आएका एक व्यक्तिलाई मंगलबार लैनचौर प्रहरी प्रभागले पक्राउ गरेको छ ।
प्रभागका अनुसार पाँच वर्षदेखि पकनाजोलमा फलफूल पसल गर्दै आएका काभ्रे वाङथली ८ का ७० वषर्ीय लालबहादुर लामा भन्ने साहिला तामाङलाई ३ सय ग्राम तौल भएको ५३ पोका गाँजा र २७ हजार २ सय ७३ रुपैयाँसहित पक्राउ गरिएको हो ।
पक्राउ लामाले फागुनदेखि लागू पदार्थ बेचबिखनमा लागेको र गाँजा बेचेर रकम कमाएको बयान दिएको प्रभागका प्रमुख निरीक्षक रुगमबहादुर कुँवरले बताए । प्रभागको कार्यालयदेखि मात्र १ सय ५० मिटर दक्षिणमा लामाको पसल छ ।
स्थानीयवासीका अनुसार लामाले पसल थापेदेखि यो काम गर्दै बताएका छन् । निरीक्षक कुँवरका अनुसार उनको पसलमा बालाजु, कलंकी र गौशालालगायतका क्षेत्रबाट बिहानदेखि अबेर रातिसम्म कार र मोटरसाइकल लिएर आउने युवाको भीड लागेको देखेपछि सुराकी गर्दा यो कारोबारबारे पत्ता लागेको हो ।












