मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

क्षेत्रीय»

चोरीको कारलाई ट्याक्सी बनाएर गुडाउँदै

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक १७ - एक समूहले भारतको सिलिगुडीबाट डब्लूबी ७४-०१४८ नम्बरको कार ६० हजार रुपैयाँमा किनेर काठमाडौं ल्याए । उनीहरूले त्यसलाई ट्याक्सीमा ढाल्दै बा१ज ६४४ नम्बरको किर्ते प्लेट राखेर गुडाउन थाले ।

केही दिनअघि भारतबाट ल्याइएको चोरीको यो ट्याक्सीसहित दोलखा काभ्रे गाविस ४ का ३९ वषर्ीय रितबहादुर दर्जीसहित चारजना पक्राउ परे । पक्राउ परेका दर्जीले प्रहरी सोधपुछमा उक्त कार सिलिगुडी बस्ने नेपाली राजेश योगीबाट खरिद गरी ल्याएको र साबिक भारतीय नम्बर झिकेर उक्त किर्ते नम्बर राखेको बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूलाई थप कारबाहीका लागि राजस्व कार्यालयलाई बुझायो । राजधानीमा दर्जीझैं भारतबाट चोरीनिकासी गरी ल्याएको कार र ट्याक्सी गुडाउनेको कमी नभएको प्रहरीले जनाएको छ । परिसर प्रमुख एसपी नवराज सिलवालका अनुसार करिब २० यस्ता चोरीका ट्याक्सी राजधानीभित्र र चक्रपथबाहिर गुडिरहेको गुप्तचरले फेला पारेको छ ।

यस्ता चोरीको कार र यसमा टाँसिएको नम्बरप्लेट सक्कली वा नक्कली भएको जाँच्ने कुनै निकाय वा मापदण्ड नभएकाले प्रहरीको गुप्तचरबाट प्राप्त खबरका आधारमा कारबाही गरिने गरिएको उनले कान्तिपुरलाई बताए ।

'केहीले मात्र कमाउने नियतले भारतबाट चोरीका कार किनेर ल्याई ट्याक्सीका रूपमा गुडाएको पाइयो,' एसपी सिलवालले भने । उनको अनुसार अधिकांश यस्ता गाडीको प्रयोग आपराधिक समूहले छल्न, ढाँट्न र आपराधिक प्रमाण लुकाउनलाई प्रयोग गरिरहेको देखिएको छ ।

पजेरो एवं बलेरोजस्ता ठूला गाडीको तुलनामा सूचना अभावमा कार एवं जिपजस्ता साना सवारी कमै बरामद हुने गरेको अनुसन्धान अधिकृतहरूको ठहर छ । यस्तो ट्याक्सी चलाउने चालकहरू कुनै आधिकारिक संघसंस्थासँग आबद्ध नहुने हुनाले अनुसन्धान कार्य चुनौतीपूर्ण हुने गरेको प्रहरीहरू बताउँछन् । 

चोरीका गाडीको बेचबिखनमा संलग्न भएर भारतको बिहार प्रहरीद्वारा पक्राउ भएका ७ गिरोह, उत्तर प्रदेश प्रहरीले कारबाहीमा लिएका ६ गिरोह र पश्चिमबंगाल प्रहरीले नियन्त्रणमा लिएका ११ समूहले सीमावर्ती नेपाली क्षेत्रसँगै काठमाडौंमा भारी परिमाणमा यस्ता गाडी बेच्न थालेको बताउँदै आएको छ ।

विभिन्न भारतीय पत्रपत्रिका र टेलिभिजनमा प्रकाशित एवं प्रसारित समाचारअनुसार केही वर्षअघिसम्म विराटनगर, वीरगन्ज, भैरहवा र काँकडभिट्टा क्षेत्रमा बेचिने यस्ता गाडी राजधानी र त्यसका वरिपरिका जिल्लामा ठेकेदार, बालुवा तस्कर, लुट र अपहरणमा संलग्न समूहसम्म पुग्ने गरेको छ ।

अनुसन्धान अधिकृतहरूका अनुसार भारतमा सार्वजनिक स्थल, सोरुम र सर्भिस सेन्टरबाट झुक्याएर यस्ता गाडी चोर्ने गिरोह हुन्छन् । 'तर भारतका यी आपराधिक गिरोहले सिधै नेपाली ग्राहकलाई यी गाडी बेचेर जोखिम मोल्दैनन्,' एसपी सिलवालले भने, 'उनीहरुबाट गाडी किनेर बेच्ने नेपाली र भारतीय एजेन्ट हुन्छन्, उनीहरू उतै बसेर नेपालीलाई सस्तो दरमा यी गाडी बेच्छन् ।'

यही कारणले गाडीसहित पक्राउ भएका व्यक्तिले यस्ता गाडी बेच्ने नेपालीका बारेमा भने पनि त्यस्ता मूल आपराधिक गिरोहबारे उनीहरूलाई केही थाहा नहुने गरेको उनले बताए । प्रहरीका अनुसार त्यसपछि गाडी पास गराइदिने भन्दै किर्ते गर्ने गिरोहले केही रकम पाएपछि चालकलाई किर्ते नम्बर र नक्कली कागजात उपलब्ध गराउने देखिएको छ ।    

एसपी सिलवालका अनुसार चोरीका गाडी बेच्नेहरू नेपाली समूह भारतमै बस्ने र कमिसन दिएर नेपाली मध्यस्थकर्तामार्फत यी गाडी बेच्ने गरेको हुनाले प्रहरीको हातमा पर्ने गरेका छैनन् । 

खोजतलास सुरु हुनेबित्तिकै यी गाडीलाई लुकाउने गरिएको हुनाले बरामदगीको कार्य निकै जटिल हुने गरेको यस कार्यका लागि खटिएका एक विशेष प्रहरीटोलीका सदस्यले बताए । उनीहरूका अनुसार यस वर्ष राजधानी भित्रिएका ७४ चोरीका गाडीमध्ये ११ वटा बरामद भएको र त्यसमा दुईवटा मात्र कार छन् । अवैध आयातनिर्यात, धम्की र फिरौती असुलीमा संलग्न समूहले मुख्य सहरभन्दा बाहिर नागढुंगा, बालाजु, धादिङ र काभ्रेलगायतका स्थलमा यी गाडीको बढी प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा