समाचार»
प्रधानमन्त्रीका भाइलाई हङकङमा 'बहिष्कार'
हङकङ, २०६६ कार्तिक १७ - प्रधानमन्त्री माधवकुमार नेपालका भाइ विनोद उपाध्यायलाई हङकङ महावाणिज्यदूतमा गरिएको नियुक्ति खारेज नगरे उनलाई बहिष्कार गर्ने चेतावनी यहाँका जनजातिले दिएका छन् ।
अधिकांश जनजातिको बसोबास रहेको हङकङमा पुनः गैरजनजाति महावाणिज्यदूत नियुक्ति गरिएको भन्दै नेपाली आदिवासी जनजाति महासंघले विरोध जनाएको हो । उनलाई गतसाता मन्त्रिपरिषदले नियुक्त गरेको थियो ।
महासंघले सोमबार साँझ यहाँ पत्रकार सम्मेलन गरी सत्ताको दुरुपयोग गरी गरिएको नियुक्ति तुरुन्त खारेज हुनुपर्ने माग राखेको हो । महासंघले हङकङमा जनजातिमूलका महावाणिज्यदूत नै पठाउनुपर्ने माग राखेको छ । 'बेवास्ता गरी पठाइए उनी हङकङ छिर्नासाथ कालोझन्डासहित विरोध प्रदर्शनमा उत्रने छौं, महाससंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले भने, 'कार्यालयमा तालाबन्दी, असहयोग र सामाजिक बहिष्कार नै गरिने छ ।'
पूर्वमहावाणिज्यदूत केशवप्रसाद भट्टराईको सरुवा भएपछि रिक्त पदमा जनजाति मूलका व्यक्ति नै नियुक्त हुनुपर्ने मागसहितको पत्र प्रधानमन्त्री कार्यालयमा पहिल्यै बुझाएको समेत उनले खुलासा गरे । भ्रमणमा आउने सबै मन्त्री तथा नेतालाई पनि प्रत्येकपटक ज्ञापनपत्र बुझाइए पनि बेवास्ता गरेको अध्यक्ष चेम्जोङको आरोप थियो ।
'अरूका के कुरा गर्नु महासचिव हुँदा तपाईंको माग जायज छ, म कुरा उठाउँछु भनेर फिरेका उनैले आफ्नै भाइ नियुक्त गरे,' अध्यक्ष चेम्जोङले रोष प्रकट गर्दै भने । केही महिनाअघि हङकङ भ्रमणमा आएका पार्टी अध्यक्ष झलनाथ खनाल, खड्ग ओली लगायतका वरिष्ठ नेताले समेत हङकङमा जनजाति महावाणिज्यदूतको मागलाई जायज बताएको चेम्जोङको भनाइ थियो । पत्रकार सम्मेलनमा हङकङमा ९८ प्रतिशत जनजाति रहेको आयोजकले दाबी गरे ।












