मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

अर्थ/वाणिज्य»

'झाडापखाला खाद्यान्नबाट हैन'

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक १६ - विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) बाट वितरित चामलकै कारण जाजरकोट, दैलेख, सुर्खेत र रुकुममा झाडापखाला नफैलिएको निष्कर्ष छानबिन टोलीको प्रतिवेदनले देखाएको छ । स्थानीय विकास मन्त्रालयको सहसचिव दिनेशकुमार थपलियासहित सरकारले गठन गरेको नौ सदस्यीय टोलीले तयार पारेको प्रतिवेदनमा चर्पीको व्यवस्था नभएको र खानेपानी दूषित भएकाले झाडापखाला फैलिएको उल्लेख छ ।

'झाडापखाला प्रभावित जिल्लामा कार्यक्रमबाट वितरण भएको चामल परीक्षण प्रतिवेदन र त्यहाँ रहेका विभिन्न पक्षको कुरा बुझदा खानयोग्य रहेको देखिन्छ,' प्रतिवेदनमा भनिएको छ, 'केही रोगीको दिसा जाँच गर्दा भेटिएका भिकोरेला/इकोलीजस्ता कीटाणु भेटिएको छ । जुन सुख्खा खाद्यान्नमा बाँच्न सक्दैन ।' प्रतिवेदनमा यी किटाणु पानीबाट एकबाट अर्कोमा सर्ने प्रकृतिका रहेको उल्लेख छ ।

धेरै घरमा चर्पी नभएका र भए पनि उपभोग नभएको पाइएको छ । त्यस्तै खानेपानीका ११ नमुना परीक्षण गर्दा २ खानयोग्य र सात अयोग्य र दुई शंकापूर्ण पाइएकाले महामारीको कारण खाद्यान्नभन्दा पानी रहेको विज्ञलाई उद्धृत गर्दै प्रतिवेदनले जनाएको छ । 

'प्रकोपको कारण प्रदूषित पानी, बासी खानेकुरा, व्यक्तिगत सरसफाइ अभाव, वातावरणीय प्रदूषण र खुला दिसापिसाब गर्ने बानी रहेको उल्लेख छ,' प्रतिवेदनमा भनिएको छ । डब्लूएफपीले वितरण गरेको दाल नपाक्ने गरेको गुनासो उपभोक्ताले गरेको प्रतिवेदनमा छ । उपभोक्ता असन्तुष्टि भए पनि यो महामारीको कारण भएको आधार स्थापित नभएको प्रतिवेदनमा छ ।

हालै राष्ट्रिय मानव अधिकार आयोगले दिएको प्रतिवेदनले भने डब्लूएफपीले वितरण गरेको गुणस्तरहीन खाद्यान्नका कारण महामारी फैलिएको उल्लेख छ ।

डब्लूएफपीले खाद्यन्न वितरण, व्यवस्थापन र भण्डारणमा पर्याप्त सतर्कता अपनाएको पाइए पनि गुणस्तर नियन्त्रणमा सुधार गर्नुपर्ने आवश्यकता रहेको औंल्याएको छ ।

प्रभावित जिल्लामा पर्याप्त स्वास्थ्यकर्मी र औषधिको आकस्मिक व्यवस्थामा सुधार गर्नुपर्ने सुझाव अध्ययन प्रतिवेदनको छ  । डब्लूएफपी र सरकारबीच भएको सम्झौतामा कार्यक्रम सञ्चालन गर्ने मुख्य जिम्मेवार संस्था स्थानीय विकास मन्त्रालय हो । तर यस मन्त्रालयअन्तर्गतको ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रमले यो सञ्चालन गरे पनि यसका क्षमता पर्याप्त नभएकाले सुधार गर्न भनिएको छ ।

 

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console