Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ८, बुधवार     Login | Register
अर्थ/वाणिज्य»

पर्यटकका लागि १ हजार ५ सय सवारी साधन

काठमाडौ, भाद्र २४ -
पर्यटक आगमनसँगै उनीहरूलाई सवारी साधन उपलब्ध गराउने व्यवसाय फस्टाउँदै गएको छ । होटल, ट्राभल एजेन्सीलगायतले आफ्ना सवारी साधनमा घुमाउँदै आएका पर्यटकले पछिल्लो समय भाडामा समेत सवारी साधन पाउन थालेका छन् । यसले गर्दा स्वतन्त्र रूपमा घुम्न चाहने पर्यटकलाई फाइदा पुगेको छ । पर्यटकलाई सुविधा सम्पन्न आरामदायी सवारी साधन भाडामा लगाएर व्यवसायीले राम्रो आम्दानी गर्दै आएका छन् ।

नेपाल पर्यटक यातायात व्यवसायी संघमा आबद्ध ३९ वटा कम्पनीले पर्यटकलाई भाडामा सवारी साधन उपलब्ध गराउँदै आएका छन् । यसबाहेक अरू त्यत्तिकै संख्याका कम्पनीले संघमा आबद्ध नभई पर्यटकलाई सेवा दिइरहेको संघका महासचिव भीम गोलेले बताए । पर्यटक यातायात व्यवसायी संगठित भएपछि उनीहरूले आफ्ना सवारी साधनमा नीलो प्लेट पाएका छन् । यसअघि पर्यटक बोक्ने होटल, ट्राभल एजेन्सीले मात्र नीलो प्लेट प्रयोग गर्दै आएका थिए । उनीहरूले करिब १ वर्षअघि संगठन बनाएका थिए । संगठनका उपाध्यक्ष रामशरण कार्कीका अनुसार त्यसअघि व्यवसायीले रातो र कालो प्लेटका सवारी साधन पर्यटकलाई उपलब्ध गराउँदै आएका थिए । उनीहरूको सवारी साधन होटल, ट्राभल एजेन्सी, टुरिस्ट गाइडलगायतले भाडामा लिने गरेका छन् । 'हाम्रो सम्पर्क होटल, ट्राभल एजेन्सीलगायतसँग हुन्छ,' उनले भने, 'चाहिएका बेला उनीहरूले सवारी साधन हामीसँग भाडामा लिन्छन् ।'

व्यवसायीले बस, मिनी बस, हाएस, कोस्टर, कार, भ्यान, पजेरोलगायत सवारी साधन भाडामा उपलब्ध गराउने संघका उपाध्यक्ष कार्कीले बताए । पर्यटक सवारी व्यवसायीसँग साना ठूला १ हजार ५ सयभन्दा सवारी साधन रहेको उनको भनाइ छ । 'पर्यटकलाई सवारी साधन उपलब्ध गराउने काम व्यावसायिक रूपमा हुँदै आएको छ,' उनले भने, 'यस्ता कम्पनीमा २ हजार ५ सय जनाभन्दा बढीले रोजगारी पाएका छन् ।' उनका अनुसार यस व्यवसायमा १० अर्बभन्दा बढीको लगानी छ । 'एउटै गाडीको करोडभन्दा बढी पर्छ,' उनले भने, 'पर्यटकका लागि सुविधा सम्पन्न सवारी साधन चाहिने भएकाले अरूको तुलनामा यस्ता सवारी महँगा हुन्छन् ।' हरेक व्यवसायीका कम्तीमा ५ वटा सवारी साधन छन् । तिनीहरूले कम्तीमा ५ करोड रुपैयाँ लगानी गरेका छन् ।

व्यवसायीले पर्यटकलाई उपलब्ध गराउन सामान्य सवारी साधनमा भन्दा अतिरिक्त सुविधा थपेका हुन्छन् । यस्ता सवारी साधनमा एयर कन्डिसनर, आरामदायी सिट, एयर ब्याग, स्तरीय म्युजिक सिस्टम, माइकलगायत सुविधा हुने कार्कीले बताए । सवारी साधनमा अंग्रेजी बोल्न जान्ने, तालिम प्राप्त र पर्यटकलाई गाइड गर्न जान्ने चालक राखिन्छ ।

यस्ता सवारी साधन सामान्यत पर्यटकलाई एयरपोर्ट लिन जाने र पुर्‍याउने, उपत्यकाका पर्यटकीय स्थलहरू घुमाउने, नगरकोट, पोखरा, चितवन, लुम्बिनी घुमाएर फर्काउने काममा बढी प्रयोग हुने कार्कीले जानकारी दिए । उनका अनुसार यस्ता सवारी साधनको क्षमता, दूरी र अवस्था हेरेर भाडा तय हुन्छ । एसोसिएसनले सवारी साधन र दूरी हेरेर भाडा दर निर्धारण गरेको छ ।

  व्यवसायीले टाटाका बस, कार, टोयोटाका हायस, मिनीबस, कार, फियाट, भग्सवागन, फोर्ड, स्विफ्ट, किया, इसुजुका कार, भ्यान, जिप, कोस्टर पर्यटकका लागि प्रयोगमा ल्याउँदै आएका छन् । टाटाका बसको च्यासिस नेपाल ल्याएपछि दर्ता गरेपछि दिल्ली पुर्‍याएर बडी बनाएर ल्याउने गरेको कार्कीले जानकारी दिए । 'पर्यककीय वसका लागि आवश्यक बडी बनाउने सुविधा नेपालमा छैन,' उनले भने, 'त्यसैले व्यवसायीले दिल्ली लगेर सुविधा सम्पन्न बनाउँछन् ।'

पर्यटक प्रशस्त आएकाले सवारी साधन व्यवसायीले वर्षभरि अफसिजनको अनुभूति गर्न नपरेको उपाध्यक्ष कार्कीले बताए । उनका अनुसार सबै सिजन व्यवसाय उस्तै चलेको छ । त्यसमा पनि सेप्टेम्बर १५ देखि डिसेम्बर १५ र जनवरी १५ देखि जुन १५ का दुई सिजन भने व्यवसायीले सवारी साधनको अभाव भोग्नुपर्ने कार्कीले बताए । 'त्यतिखेर धेरै पर्यटक आउने भएकाले हामीले होटल, ट्राभल एजेन्सीले मागेअनुसार सवारी साधन उपलब्ध गराउन सकेका छैनौं,' उनले भने ।

देशअनुसारका पर्यटक फरकफरक समयमा आउने भएकाले सवारी साधन खाली राख्नु नपरेको व्यवसायीको भनाइ छ । अरू मुलुकका पर्यटकलाई अफसिजन मानिने जुलाई-अगस्टमा छिमेकी चिनियाँ पर्यटकले उनीहरूको व्यवसाय धानिदिएका छन् । संघका महासचिव गोलेका अनुसार पछिल्लो समय चिनियाँ पर्यटकले नेपालको पर्यटन उद्योगमा महत्त्वपूर्ण योगदान दिएका छन् । त्यसैले पर्यटक सवारी व्यवसायमा हात हाल्नेहरूले राम्रो कमाइ गरेका छन् । एउटा सवारी साधनबाट २०५८ सालमा नेपाल कम्र्फट टुर सर्भिस सुरु गरेका कार्कीले राजदबार हत्याकाण्ड, माओवादी द्वन्द्वको चर्को मार खेप्नुपर्‍यो । माओवादी शान्ति प्रक्रियामा आएपछि पर्यटक बढ्दै गए । यतिखेर उनका दिन फर्किएका छन् । 'अहिले मसँग १७ वटा सुविधा सम्पन्न सवारी साधन छन्,' उनले भने, 'सबै व्यवसायीको प्रगति यस्तै छ ।' लामा टुर्स सर्भिस सञ्चालन गर्दै आएका राजकुमार लामा २० वर्षदेखि पर्यटकलाई सवारी साधन उपलब्ध गराउँदै आएका छन् । उनले सानाठूला ४५ वटा सवारी साधन सञ्चालन गर्दै आएका छन् ।

पर्यटकीय सिजन सुरु हुन लागेकाले व्यवसायीले भर्खरै नयाँ सवारी साधन भित्र्याएका छन् । संघका उपाध्यक्ष कार्कीका अनुसार आउने सिजनका लागि व्यवसायीले कम्तीमा २३ वटा कार र १६ वटा बस भित्र्याएका छन् । पर्यटकको सुविधाका लागि नयाँ सवारी साधन ल्याउने क्रम बढ्दै गएको छ । पर्यटकीय सवारी साधन सञ्चालन गर्ने कम्पनीसमेत एक वर्षमा ५ वटा थपिएको कार्कीले जानकारी दिए । 'अझै थपिने क्रममा छन्,' उनले भने । नेसनल भेइकल सर्भिस सञ्चालन गर्दै आएका महासचिव गोलेले भर्खरै आउने सिजनका लागि २ नयाँ गाडी भित्र्याएका छन् । उनको कम्पनीले आफ्नै सात वटा सहित ४० वटाभन्दा बढी सवारी साधन सञ्चालन गर्छ ।

मुलुकको राजनीतिक अवस्थाले यो व्यवसायले चाहेजति प्रगति अझै गर्न नसकेको व्यवसायीको भनाइ छ । 'राष्ट्रिय ध्वजाबाहक विमानको यो हालत छ,' कार्कीले भने, 'सडक राम्रो छैन, प्रदूषण बढ्दो छ, विद्युत् छैन, बन्द हडताल भइरहन्छ । यस्तो अवस्थामा कसरी पर्यटक बढ्छन् ?' यस्ता समस्या समाधान भए यस क्षेत्रमा लगानी थपिएर रोजगारीको अवसर सिर्जना हुने उपाध्यक्ष कार्कीले बताए ।

वर्षमा ७ पटकसम्म हुने तेलको मूल्य वृद्धिले पनि व्यवसायीलाई सताएको छ । 'एक वर्षअघि पर्यटकका लागि पठाइएको दरमा ७ पटक तेलको मूल्य वृद्धिले दोब्बर फरक पार्छ,' उनले भने, 'यस्तो अवस्थामा व्यवसाय धान्न गाह्रो हुन्छ ।' यसबाहेक व्यवसाय दर्ता, नवीकरण प्रक्रियामा सरकारी कार्यालयमा हुने ढिलासुस्तीले समस्या पार्ने गरेको उनले बताए ।

नयाँ सवारी साधनलाई नीलो प्लेटमा दर्ता गर्न समस्या नभए पनि पुराना बसलाई भने कालो प्लेटमै चलाउन बाध्य भएको महासचिव गोलेले बताए । 'संघले नम्बर प्लेट फेर्न पहल गरिरहेको छ,' उनले भने, 'यातायातका प्रमुखलाई कन्भिन्स गरिसक्दा उनको सरुवा हुन्छ, नयाँले बुझ्न समय लगाउँछन् । हाम्रो माग कहिल्यै सुनुवाइ भएन ।' उनले साना सवारी साधनसमेत बाहिरी जिल्लामा दर्ता गरेर चलाउनुपरेको गुनासो गरे ।

 


प्रकाशित मिति: २०६९ भाद्र २५ ०९:१९

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-22
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै अलि उता सर्नु त ! त्याँ पोस्टर टाँस्नु पर्‍यो !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication