काठमाडौ, भाद्र २४ -
सगरमाथा वाङ्मय प्रतिष्ठानले शनिबार राजधानीमा चार स्रष्टालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले राजेश्वर नेपालीलाई निल-हेम-नन्द-जय-डुण्डीप्रसाद अधिकारी पुरस्कार, गोविन्दराज विनोदीलाई सत्य-इय-वेल-धनमाया पुरस्कार, प्रभा भट्टराईलाई पदमाहरि पुरस्कार र सीमा आभाषलाई सगरमाथा वाङ्मय नवप्रतिभा पुरस्कारबाट सम्मानित गरेको
हो । पुरस्कारबापत नेपाली र विनोदीले जनही पाँच हजार रुपैयाँ, भट्टराईले ३ हजार रुपैयाँ र आभाषले दुई हजार एक सय रुपैयाँसँगै सम्मानपत्र पाए । जनकपुरमा रहेर नेपाली भाषा साहित्य र पत्रकारितामा योगदान पुर्याएबापत नेपालीलाई गैंडाकोट नवलपरासीमा रहेर छन्द कवितामा योगदान पुर्याएबापत विनोदीलाई र राजधानीमा रहेर नेपाली साहित्य साधना गरेबापत भट्टराईलाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ । आभाष भने विराटनगरमा रही नेपाली साहित्य साधना गर्दै आइरहेकी छन् । चारै जनालाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सनत रेग्मी पुरस्कार हस्तान्तरण गरे । तीन वर्षअघि स्थापित प्रतिष्ठानका लागि खिलनाथ अधिकारी, सुमन दाहाल र मित्रसेन दाहालले पुरस्कार स्थापना गरेका हुन् । पुरस्कृत स्रष्टाका व्यक्तित्व र कृतित्वबारे साहित्यकार विष्णुविभु घिमिरे, डा. तुलसी भट्टराई र डा. कुमार कोइरालाले चर्चा गरेका थिए । प्रतिष्ठानले 'सगरमाथा वाङ्मय' नामक साहित्यिक त्रैमासिक नियमित प्रकाशित गर्दै नेपाली साहित्यको प्रवर्द्धन गर्दै आएको अध्यक्ष पुरुषोत्तम दाहालले बताए ।