काठमाडौ, भाद्र २४ -
'वारि जमुना पारि जमुना...' बोलको गीतबाट चर्चामा आएका लोकगायक खेमराज गुरुङले नयाँ गीति एल्बम बजारमा ल्याएका छन् । गुरुङको नयाँ लोकगीत संग्रह 'ढाक्रे' आइतबार राजधानीमा संगीतकार प्रकाश गुरुङले सार्वजनिक गरे ।
ढाक्रे जीवनका पीडालाई सम्बोधन गरी नयाँ एल्बम ल्याइएको गायक गुरुङले बताए । एल्बममा 'ढाक्रे...', 'धेरैपछि पूर्व...', 'धराने बजार...', 'जाउँ साइँली...', 'सिमसिम पानी...' लगायत नौ गीत रहेका छन् । कवि श्रवण मुकारुङले 'ढाक्रे जस्ता दुःखी पात्रको जीवनकथा गीत-संगीत मार्फत उजागर गरेर गायक आवाजविहीनहरूको आवाज बनेको' दाबी गरे ।
एल्बममा लय र शब्द संकलनसँगै स्वर गुरुङकै रहेको छ । कार्यक्रममा गुरुङको गीतिसंग्रह पुस्तक 'ढाक्रे' पनि सार्वजनिक गरियो ।