काठमाडौ, भाद्र २४ -
सरकारले ऊर्जा बचत गरी लोडसेडिङ घटाउन तथा डिजेल खपतलाई कम गर्न सरकारी कार्यालय, संस्थान र शिक्षण संस्थामा साताको दुई दिन बिदा दिने तयारी गरेको छ । उद्योगधन्दा, वित्तीय क्षेत्र र कर्पोरेटसहित सम्पूर्ण निजी क्षेत्रका प्रतिष्ठान र कार्यालयलाई समेत साताको दुई दिन बिदा गर्न सरकारले आग्रह गर्ने भएको छ ।
ऊर्जा मन्त्रालयले लोडसेडिङ घटाउन साताको दुई दिन बिदा गर्नेसहित विद्युत् चोरी हुने ठाउँमा लोडसेडिङ बढाई अन्यत्र घटाउने, दुहवी-कटैया र ढल्केबर-मुजफ्फपुरमा नेपाल-भारतबीचको अन्तरदेशीय प्रसारण लाइन द्रुत गतिमा निर्माण गरी भारतबाट बढी बिजुली आयात गर्ने र भएका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्नेलगायतका कार्ययोजना बनाएको छ ।
ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणका अधिकारीले प्रधानमन्त्री बाबुराम भट्टराईलाई सम्पूर्ण सरकारी कार्यालय र निजी क्षेत्रका उद्योगधन्दा तथा व्यापारिक प्रतिष्ठानमा साताको दुई दिन बिदा गर्नेसहित लोडसेडिङ घटाउने तथा डिजेलको खपत कम गर्ने कार्ययोजनाबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री भट्टराई यो कार्ययोजनामा सहमत भए साताको दुई दिन शनिबार र आइतबार बिदा दिन तथा निजी क्षेत्रलाई समेत दुई दिन बिदा गर्न आग्रह गर्नेसहितको कार्ययोजनासम्बन्धी प्रस्ताव निर्णयका लागि मन्त्रिपरिषद्मा लाने तयारी गरेको छ । प्रधानमन्त्री भट्टराईले नै ऊर्जा मन्त्रालय सम्हालेका छन् ।
दुई दिन बिदा गर्दा साताको पाँच दिन कार्यालय समय बढाएर बिहान ९ देखि ५ बजेसम्म गरिनेछ । दुई दिन बिदा गरे पनि साताको कुल कार्यालय समय भने नघट्ने जानकारी सरकारी अधिकारीले दिए । हाल आइतबारदेखि बिहीबारसम्म १० देखि ५ र शुक्रबार १० देखि ३ बजेसम्म गर्दा साताको कुल कार्यालय समय ४० घन्टा हुन्छ । साताको दुई दिन बिदा गर्दा पनि सोमबारदेखि शुक्रबारसम्म ८ घन्टाका दरले कार्यालय समय ४० घन्टा नै हुने भएकाले सरकारी कार्यालयले आमजनतालाई गर्ने सेवा प्रवाहमा नकारात्मक असर नपर्ने दाबी ती अधिकारीको छ ।
साताको थप एक दिन बिदा गर्दा ४ लाख युनिट बिजुली बचत हुने र त्यसले आगामी हिउँदयाममा लोडसेडिङ दैनिक १७ घन्टा भन्दा नबढाउन सकिने जानकारी प्राधिकरणका एक अधिकारीले दिए । आगामी हिउँदमा दैनिक १९ घन्टासम्म लोडसेडिङ हुने प्राधिकरणको प्रक्षेपण छ ।
प्रकाशित मिति: २०६९ भाद्र २५ ०८:५७
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !