काठमाडौ, भाद्र २४ -
एमालेका केही असन्तुष्ट जनजाति नेताहरू पार्टीभित्र अन्तरसंघर्षको अवस्था समाप्त भएको निष्कर्षमा पुग्दै नयाँ पार्टी निर्माण गर्ने भएका छन् । आफ्ना मागहरूमा पार्टीले दिएका जवाफ चित्तबुझ्दो नभएपछि उपाध्यक्ष अशोक राईलगायतका असन्तुष्टहरूको एक समूह नयाँ पार्टी निर्माण गर्ने टुंगोमा पुगेको हो । पार्टीको नाम 'संघीय समाजवादी पार्टी' प्रस्ताव गरिएको छ । असन्तुष्टमध्येकै पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, दलबहादुर रानालगायत केही नेता भने नयाँ पार्टी खोल्ने प्रक्रियामा सामेल भएका छैनन् । उनीहरू एमालेभित्रै अन्तरसंघर्षको अवस्था समाप्त नभएको भन्दै तत्काल नयाँ पार्टी खोल्ने कुरामा असहमत भएका हुन् ।
असन्तुष्ट समूहका नेता अजम्बर काङमाङ राईले कान्तिपुरसँग भने, 'पार्टीभित्र बस्ने अवस्था समाप्त भएकाले हामी नयाँ शक्ति निर्माण गर्ने दिशामा लागेका हौं, यसमा सबै पार्टीका साथीहरू सहभागी हुनुहुन्छ ।'
असन्तुष्ट नेताहरूले एकल जातीय पहिचानसहितको संघीयता र संविधानसभा पुनःस्थापनालगायतका नौ बुँदे माग पार्टीसमक्ष राखेका थिए । उनीहरूका नौ बुँदे मागलाई गत साता एमालेले लिखित रूपमा जवाफ दिएको थियो । अध्यक्ष झलनाथ खनालले पठाएको जवाफमा एकल जातीय पहिचानसहितको संघीयताको माग अस्वीकार गरिएको थियो । तर संविधानसभा पुनःस्थापनामा भने एमाले लचिलो रहेको जवाफ खनालले दिएका थिए ।
पार्टीतर्फबाट आएको लिखित जवाफप्रति उपाध्यक्ष राईलगायतको एउटा समूह पुरानै अडानमा रहेको भन्दै पार्टी सच्चिने सम्भावना समाप्त भएको निष्कर्षमा पुग्यो । त्यही निष्कर्षसहित राईकै नेतृत्वमा नयाँ पार्टी गठनका लागि आन्तरिक गृहकार्य तीव्र भएको हो ।
पृथ्वी सुब्बा गुरुङलगायतका केही नेता भने संविधानसभा पुनःस्थापना गर्न सकिने पार्टीको धारणा सकारात्मक भएको भन्दै बाँकी मुद्दाहरूलाई पनि अन्तरसंघर्षमार्फत अघि बढाउन सकिने धारणा राख्दै आएका छन् । पार्टीभित्र आफ्ना मुद्दा अन्तरसंघर्षमार्फत अघि बढाउने विधि तय गर्ने हो भने सहज हुने उनीहरूको धारणा छ ।
'हामीले पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्न अग्रगामी विचार समूह बनाएका हौं' अर्का नेता किरण गुरुङले भने, 'संविधानसभा पुनःस्थापना गर्ने र हाम्रा कुराहरू पनि छलफलमा लैजाने हो भने अन्तरपार्टी संघर्ष गरेर जान सकिन्छ ।' पार्टीले आफ्ना माग निश्चित विधि तय गरी छलफलमा लैजान सक्ने अवस्था सिर्जना गरिदिए सबै एमालेमै बस्न सक्ने दाबी गरे । 'पार्टीको कुरा अलमल्याउने खालेको हो भन्ने साथीहरू पनि हुनुहुन्छ,' नेता गुरुङले भने, 'तर विधि तय हुने हो भने पार्टीकै विकल्प खोज्ने कामचाहिँ हुन्छ जस्तो लाग्दैन ।'
एमालेको असन्तुष्ट नेताहरूको समूहले केही दिनदेखि जिल्ला-जिल्लामा सम्मेलनसमेत गरिरहेका छन् । उनीहरूले जनकपुरमा सम्मेलन गरेका थिए । त्यहाँ नेता रामचन्द्र झालगायतले 'एमालेका ब्यानरमा सम्भवतः अन्तिम कार्यक्रम हुनसक्ने' भाषण गरेका थिए । 'पार्टीभित्र अन्तरसंघर्षको अवस्थ्ाा पनि साँघुरिँदै गएको छ, पार्टीको जवाफ चित्त बुझाउने खालको छैन,' उनले कान्तिपुरसँग आइतबार भने, 'यस्तो अवस्था रह्यो भने अर्को ढंगले पनि जानुपर्ने हुन सक्छ ।' उनी पार्टीभित्रै रहने कि नयाँ पार्टीतर्फ लाग्ने भन्नेमा स्पष्ट रूपमा खुलिसकेका छैनन् । अन्य केही नेताहरू पनि धरमरको स्थितिमा छन् ।
प्रकाशित मिति: २०६९ भाद्र २५ ०८:५६
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?