Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ८, बुधवार     Login | Register
अर्थ/वाणिज्य»

नगद डलर भित्रिने क्रम घट्यो

काठमाडौ, भाद्र १३ -
तथ्यांकमा हालसम्मकै सबैभन्दा बढी विदेशी मुद्राको सञ्चिति देखिए पनि नगद अमेरिकी डलर मुलुक भित्रिने क्रम घटेकाले बैंकबाट माग हुने बित्तिकै पाइन छाडेको छ । 'अभाव' कै अवस्था नभए पनि अधिकांश बैंकले धेरै नगद साट्न छाडेका छन् ।

पर्यटक आगमनमा उल्लेख्य नबढेको र नगदको साटो कार्डबाट भुक्तानी हुने क्रम बढेपछि यस्तो अवस्था आएको राष्ट्र बैंक बताउँछ । २० दिनभन्दा बढी समयदेखि मुलुकमा नगद डलरको अभाव देखिएर त्यसको असर बैंकसम्म पुगेको राष्ट्र बैंकका उच्च अधिकारीले बताए । 'नगदमा डलरको कमी भएको हो,' उनले भने, 'बैंकहरूलाई नगदमा भन्दा अन्य विकल्पबाट डलर दिन मौखिक जानकारी दिएका छौ ।'

राष्ट्र बैंकले डलर साट्ने वाणिज्य बैंकका सम्बन्धित शाखा प्रमुखलाई बोलाएर ५ सय डलरसम्म नगदमा दिन र सोभन्दा बढी माग भए ट्राभलर्स चेक वा अन्य विकल्पबाट भुक्तानी गर्न भनेको छ । 'राष्ट्र बैंकले पनि माग भएअनुसारको डलर भुक्तानी दिएको छैन,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'मुलुकभित्रै दुरुपयोग बढेको हुन सक्ने आशंका गरिएको छ ।'  

नगदमा डलरको अभाव हुने क्रम क्षणिक रहेको र छिट्टै समाधान हुने राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली बताउँछन् । 'सेप्टेम्बरबाट पुनः पर्यटन सिजन सुरु हुन्छ,' उनले भने, 'त्यसैले यो क्षणिक हो ।' मुलुकमा शोधनान्तरसँगै विदेशी मुद्रा सञ्चिति पनि उच्च अंकले बचतमा छ । विदेशी मुद्रा सञ्चिति उच्च भए पनि नगदमै भित्रिने क्रम घटेपछि यस्तो अवस्था आएको हो । 'आवश्यक पर्ने डलर बैंक वित्तीय संस्थाले उपलब्ध गराइरहेका छन्,' ज्ञवालीले भने, 'बैंकबाट नपाइए राष्ट्र बैंकको बैंकिङ कार्यालयबाट लिन सकिन्छ ।'

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौदि्रक नीतिबाट विदेशी मुद्रा सटहीमा केही लचकता लिनुलाई नगद डलर अभाव हुनुसँग जोडेर हेर्न सकिन्छ । यसै वर्षबाट राष्ट्र बैंकले जतिपटक विदेश भ्रमण गर्दा पनि २५ सय अमेरिकी डलर लान पाउने व्यवस्था गरेको छ । अघिल्लो वर्षसम्म यस्तो रकम दुई पटक मात्र लैजान पाइन्थ्यो । यसका साथै व्यापार प्रवर्द्धन गर्न, सभा, सम्मेलनलगायतमा जाने नागरिकलाई ५ हजार डलरसम्म लैजान पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सामान आयात गर्दा पनि साट्न पाइने अमेरिकी डलरको सीमा बढाइएको थियो ।

विदेश पढ्न वा घुम्न जानेलाई सम्बन्धित मुलुककै मुद्रा साट्न राष्ट्र बैंकले अनुरोध गरेको छ । डलर अभाव भएको 'हल्ला' चल्न थालेपछि राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । राष्ट्र बैंकले फुटकर नगद डलरबाहेकको अन्य रकम ट्राभलर्स चेक वा अन्य कार्डबाट लैजान पनि जानकारी गराएको छ । नगदबाहेकका रकम लैजाने व्यवस्था सबै बैंकले उपलब्ध गराउने र सुरक्षित भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । 'हामी कार्डबाट आय गरिरहेका छौं भने कार्डबाटै खर्च गरौं भन्ने कुरा मात्र हो,' स्रोतले भन्यो, 'डलर नभएको होइन ।'

राष्ट्र बैंकले तोकिएकै विनिमय दरमा विदेशी मुद्रा साट्न सकिने र आवश्यक पर्दा उपलब्ध हुन नसक्ने अवस्था नरहेको उल्लेख गरेको छ । प्रयोजनका आधारमा राष्ट्र बैंकले आफैं, वाणिज्य बैंक वा इजाजत लिएका अन्य संस्थाबाट विदेशी मुद्रा सट्न पाउने सुविधा दिएको छ ।

कहाँ गयो डलर ?

नगदमा मुलुकभित्र रहेको अमेरिकी डलर अवैध रूपमा चीन जान थालेपछि समस्या देखिएको राष्ट्र बैंकका अर्का एक अधिकारी बताउँछन् । आधिकारिक रूपमा बोल्न नमिले पनि खासाका व्यापारीले नगद डलर लैजाने क्रम बढेपछि केही समस्या देखिएको उनी बताउँछन् । 'प्रहरीले समयसमयमा यस्ता कारोबारीलाई पक्रने गरेको छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'पछिल्लो समय त्यसमा कमी आएको हुन सक्छ ।'

खासाका व्यापारीले नेपाली मुद्रामै सामान बिक्री गर्ने गर्छन् । चीनमा नेपाली मुद्रा नचल्ने भएकाले उनीहरूले यसलाई साट्नुपर्छ । जसका लागि ठमेललगायत क्षेत्रमा रहेका मुद्रा सटही कम्पनी प्रयोग हुने गरेको प्रहरीको विभिन्न अनुसन्धानमा देखिएको छ ।

चीनबाट बोरामा नेपाली रुपैयाँ ल्याएर बिक्री गरी अमेरिकी डलर लैजाने क्रम बढेपछि बजारमा असर परेको हो । अमेरिकी डलर चीन लैजाने क्रममा पक्राउ परेका केही व्यक्तिबाट यस्तो काममा संगठित गिरोहको संलग्नता रहेको पनि भेटिएको छ । नेपाली मात्र नभएर चिनियाँ नागरिक पनि अमेरिकी डलर ओसार्न प्रयोग हुने गरेको प्रहरीले बताउँदै आएको छ ।

प्रकाशित मिति: २०६९ भाद्र १४ ०९:०२

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-21
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै अलि उता सर्नु त ! त्याँ पोस्टर टाँस्नु पर्‍यो !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication