काठमाडौ, भाद्र १३ -
बजारमा दैनिक उपभोग्य वस्तुमा हुने कार्टेलिङ रोक्न सरकारले स्थापना गरेको साल्ट ट्रेडिङले नै चिनीको मूल्य बढाउन सघाएको आशंकामा वाणिज्य विभागले छानबिन थालेको छ ।
ठूलो परिमाणमा चिनी बेचेलगत्तै ट्रेडिङले मूल्यवृद्धि गरेर व्यापारीलाई फाइदा पुर्याएको अनुगमनमा देखिएको वाणिज्य विभागको उच्च स्रोतले दाबी गरेको छ । 'ठूलो परिमाणमा चिनी बेचेको भोलिपल्टै मूल्य बढाउनुमा साल्ट ट्रेडिङका पदाधिकारीको व्यापारीसँग मिलेमतो देखिन्छ,' स्रोतले भन्यो, 'मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले स्थापना गरेकै निकायको यसमा संलग्नाता हुनु गम्भीर कुरा हो ।'
ट्रेडिङले किराना पसलेलाई सीमित परिमाणमा मात्र चिनी उपलब्ध गराउने गरेको छ । त्यस विपरीत एउटै डिलरलाई धेरै परिमाणमा चिनी उपलब्ध गराएको देखिएकाले पनि शंका उब्जिएको विभाग स्रोतले बतायो । सरकारी स्वामित्वको ट्रेडिङले भन्सार छुटमा चिनी ल्याएर बेच्दै आएको छ । खुला बजारमा कार्टेलिङबाट अति आवश्यक वस्तु चिनीको मूल्य बढ्न नदिन मन्त्रिपरिषद्ले निर्णय गरेरै उसलाई १ प्रतिशत मात्र भन्सारमा चिनी आयात गर्न दिने गरेको छ ।
टेडिङले यसै साता भारतबाट आएको चिनीमा मूल्यवृद्धि गरेर ७६ रुपैयाँ प्रतिकिलो पुर्याएको थियो । त्यसअघि ७२/७३ रुपैयाँ किलोमा चिनी बेच्दै आएको महाप्रबन्धक उर्मिला श्रेष्ठले बताइन् । ट्रेडिङले भदौमा मात्रै ३ हजार टन चिनी बेचेको छ । उससँग अहिले करिब १९ हजार टन चिनी मौज्दात रहेको श्रेष्ठले जानकारी दिइन् ।
साल्ट ट्रेडिङले चिनी बिक्रीमा अनियमितता गरेको जानकारी आएपछि वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारी आफंै काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मासहितका अधिकारीलाई लिएर मंगलबार अनुगमनमा पुगेका थिए । टोलीले अनुगमनपछि ट्रेडिङलाई डिलरहरूलाई चिनी वितरण गरिएको खाताको विवरण प्रस्तुत गर्न र चिनीको मूल्यवृद्धिको कारण प्रस्ट पार्न निर्देशन दिएको थियो ।
विभागले जारी गरेको अनुगमनसम्बन्धी विज्ञप्तिमा 'ट्रेडिङको सम्पूर्ण गतिविधिबारे थप अनुसन्धान जारी रहेको' बताइएको थियो । ट्रेडिङको कारोबार शंकास्पद देखिएको भन्दै छानबिनको विवरण बुधबार सार्वजनिक गर्ने महानिर्देशक बिडारीले कान्तिपुरलाई बताएका थिए ।
विभागले मागेको कागजात ट्रेडिङले बुधबारसम्म उपलब्ध गराएको छैन । 'हामीले मागेका काजगात ट्रेडिङले दिएको छैन,' महानिर्देशक बिडारीले भने, 'त्यसैले विस्तृत विवरण दिन सकिएन ।' उनले मूल्यवृद्धि गर्न गरिएको निर्णयपुस्तिका, आयात गरिएको, आन्तरिक बजारमा किनिएको र डिलरलाई बेचिएको चिनीको परिमाण, हालको मौज्दातको विवरण ट्रेडिङसँग मागिएको बताए । विभागले चिनीको मूल्यवृद्धि गर्दा अपनाइएको विधिसमेत ट्रेडिङसँग मागेको छ । 'किनेको मूल्य, ढुवानी खर्च, ओभरहेड कस्टलगायतमा नाफा जोडेर बिक्री मूल्य तोकिनुपर्ने हो,' बिडारीले भने, 'त्यसको विवरण उपलब्ध गराउन निर्देशन दिएका छौं ।' उनले चिनी आयातको तथ्यांक भन्सार विभागबाट लिन सकिने भए पनि टे्रडिङबाटै पाउने अपेक्षा गरेको बताए । सार्वजनिक संस्थानले सरकारी निकायलाई कागजात उपलब्ध नगराउँदाको परिणाम उसले बुझ््नुपर्ने उनको भनाइ थियो । 'एक/दुई दिनमै कागजात पाउने अपेक्षा गरेका छौं,' उनले भने, 'हामीले वैकल्पिक बाटो अपनाउनु नपर्ला भन्ने हामीलाई लागेको छ ।'
साल्ट ट्रेडिङले भने चिनी बेच्नु नियमित प्रक्रिया भएको बताएको छ । 'हामी सामान बेच्न बसेका हौं,' महाप्रबन्धक श्रेष्ठले भनिन््, 'किन्न आउनेलाई दिने कि नदिने ?' उनले चिनी नियन्त्रित वस्तु नभएकाले बिक्री गरेको बताइन्् । उनले बैंकको ऋण र ब्याज समयमै तिर्नुपर्ने भएकाले चिनी भण्डारण गरेर मात्र राख्न नसकिने बताइन्् । 'सरकारले पहिल्यै रोक लगाएको भए हामी बेच्ने थिएनौं,' उनले भनिन््, 'उसले नरोकेकाले हामीले दैनिक कारोबार सुचारु गरेका हौं ।'
महाप्रबन्धक श्रेष्ठले कोही कर्मचारी बाहिर, कोही बिदामा भएकाले कागजात तयार गर्न केही समय लागेको बताइन्् । 'हामीले कागजात तयार गरिरहेका छौं,' उनले भनिन््, 'मागेअनुसारका कागजात छिट्टै उपलब्ध गराउँछौं ।'
अनुगमनको डरले पसल बन्द
काठमाडौं -कास)- वाणिज्य विभागको नेतृत्वको संयुक्त टोलीले बुधबार काठमाडौंको कुलेश्वर क्षेत्रका ठूला खाद्यान्न पसलमा अनुगमन गरेको छ । टोली आउने थाहा पाएपछि त्यस क्षेत्रका खाद्यान्न थोक बिक्रेता पसल बन्द गरेर हिँडेको पाइएको टोलीका एक जना सहभागीले बताए ।
यस क्रममा वाटिका मिनी मार्टको प्याक चिनीमा लेबल नभएकाले लेबलिङ गरेर मात्र बिक्री गर्न, मूल्यसूची दैनिक रूपमा अद्यावधिक गर्न निर्देशन दिइएको विभागले जनाएको छ । यस्तै मनु किराना टे्रडर्सलाई मूल्यसूची व्यवस्थित तरिकाले राख्न र पसलमा तौल गर्न तराजु राख्न निर्देशन दिइएको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यहीँको शाह ब्रदर्सलाई नापतौल प्रमाणपत्र अद्यावधिक गर्न, पसलमा ३ दिनभित्र बेट ब्यालेन्स राख्न निर्देशन दिइएको छ । उक्त स्टोरमा सोना मनसुली ३० केजीको २ सय बोरा, २५ केजीको २५ बोरा, २० केजीको १० बोरा स्टक देखिएको जनाइएको छ । कुलेश्वर कोल्ड स्टोरलाई मूल्यसूची, साइनबोर्ड राख्न र व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ ।
यसैबीच चिनीको कालोबजारी गरेको आरोपमा पक्राउ परेका बानेश्वर क्षेत्रका तीन र कोटेश्वरका दुई व्यापारीविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अनुगमनको क्रममा बढी मूल्य लिएको पाएपछि पक्राउ परेका ती व्यापारीलाई प्रहरीले जिल्ला प्रशासनमा पेस गरेको बताए । मुद्दा चलाइएकामा कोटेश्वरस्थित त्रिपुरा खाद्य स्टोरका सञ्चालक उमेश धौबन्जार, बानेश्वरको अन्नपूर्ण स्टोरका बन्द्रराज मुल्मी, राजेन्द्र सुरेन्द्र स्टोरका सुरेन्द्रकुमार धुजू र केके स्टोरका सुविन प्रधान छन् ।