काठमाडौ, श्रावण २६ -
मोहन वैद्यले नेतृत्व गरेकामे नेकपा-माओवादीले साना ९ दलसँग मिलेर छुट्टै मोर्चा गठन गरेको छ । एमाओवादीले संघीय गठबन्धन गरेको अर्को दिन उसले 'नेपाल संघीय जनगणतान्त्रिक मोर्चा' नामक मोर्चा बनाएको हो ।
राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी माओवादीले तेस्रो शक्तिका रूपमा मोर्चा गठन गरेको जनाएको छ । 'बाबुराम सरकार कायम राख्न बालुवाटारे मोर्चा बन्दैछ, कांग्रेसको नेतृत्वमा सरकार बनाउन अर्को मोर्चा बन्दैछ । दुवै असफल भइसकेकाहरूको नेतृत्व हामीलाई स्वीकार्य छैन,' राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका संयोजक एवं नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भन्नुभयो,' यो तेस्रो मोर्चा हो । क्रान्तिकारी मोर्चाकै नेतृत्वमा सरकार बन्नुपर्छ ।'