Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ७, मंगलवार     Login | Register
कोपिला»

'डोमेस्टिक साइन्स पढेर पनि डाक्टर भएँ’

श्रावण १३ -
डा. सरस्वती पाध्ये  सानो छँदा



सरस्वती पाध्ये स्त्रीरोग विशेषज्ञ र चिकित्साशास्त्रकी प्राध्यापक हुन् । ७३ वर्षअघि काठमाडौंमा जन्मेकी उनी नेपालको पुरानो पुस्ताका डाक्टरमध्येकी एक हुन् । हाल उनी काठमाडौं मेडिकल कलेजमा कार्यरत छिन् । उनले 'आमा बन्नु एउटा महत्पूर्ण कुरा हो' भन्ने पुस्तक पनि लेखेकी छिन् । उनले आफ्नो बाल्यकालबारे कोपिलासँग यसरी बताइन्:



मेरो जन्म विसं. १९९६मा काठमाडौैंको देवपाटन लगनलाछी टोलमा भयो । मेरो परिवार मध्यम वर्गिय थियो । मेरा ८ जना दिदी-बहिनी र ६ जना दाजुभाइ थिए रे । तर मैले जानेदेखि हामी ३ जना दिदी-बहिनी गंगा, यमुना, म सरस्वती र एक जना दाजु नरसिंह थियौं । यमुना दिदीबाहेक सबै जना घरमा नै जन्मेका थिए । हामीलाई ऊ अस्पतालमा जन्मेको भएर खुब रिस उठ्थ्यो । यमुनालाई हामी 'अस्पताले' भनेर बोलाउने गर्थे । यमुना र दाजु २००६ सालमा टाइफाइडले गर्दा स्वर्गे हुनुभयो ।

मेरो बुबा ज्योतिषी हुनुहन्थ्यो । उहाँ आयुर्वेदका कविराज पनि हुनुहुन्थ्यो । आमा भने गृहिणी हुनुहन्थ्यो ।

मेरो पढाइको सुरुवात घरबाट नै भयो । मेरो बुबाआमाले मलाई संस्कृत मात्र पढाउनुभएको थियो । मेरो घरनजिकै एउटा पाठशाला थियो । म त्यही पाठाशालामा गएर पढ्थें । एउटै कक्षा दाहिनेपट्ट िगोकर्ण गुरुले संस्कृत पढाउनुहुन्थ्यो भने देव्रेपट्ट िगोपाल गुरुले संस्कृत, अंगे्रजी र नेपाली पढाउनुहुन्थ्यो । नेपालीमा 'ए' माने एउटा भनेर सिकाउनुहुन्थ्यो भने अंग्रेजी बीएटी ब्याट भनेर पढाउनुहुन्थ्यो । म एकापट्ट िबसेर सुन्थें । त्यसरी पढाएको सुन्दा मलाई खुब अंग्रेजी पढ्ने इच्छा लाग्यो । साथीहरूले क्यालेन्डर रेडर वन, क्यालेन्डर रेडर टु त्यसबेला यसरी सिक्दा रहेछन् । मलाई सामान्य जोड घटाऊ आउँथ्यो । अरू कुरा मैले खासै जानेको थिइनँ ।

२००७ सालमा प्रजातन्त्र आएपछि विभिन्न संघसंस्था, स्कुल खुले । घरमा आमा र म मात्र थियौं । साथीहरूले स्कुल जाऊ हिँड भनेर मलाई पनि लिएर गए । साथीहरूले बडो उत्सुकताका साथ एक्कैचोटि ७ कक्षामा भर्ना गर्नुपर्छ भने । स्कुल गएँ तर गुरुआमाले जाँच लिनुभयो । मैले जाँच दिएपछि सबै जना गुरुआमाहरू हाँस्नुभयो मलाई आफैं अप्ठ्यारो लाग्यो । गुरुआमाले पाँच कक्षासम्म बस्छौ भन्नुभयो । त्यसपछि मैले एकैचोटि कक्षा ५ मा पढ्न थालें । म खुब मिहिनेत गरेर पढ्थेँ । कक्षा पाँचमा फस्र्ट भएपछि मलाई गुरुहरूले एकैचोटि डबल प्रमोसन गरेर सात कक्षामा राखिदिनुभयो । त्यसपछि म कहिल्यै पनि दोस्रो भइनँ, सधैं पहिलो । मैले निःशुल्क पढेको हुँ ।

स्कुल पढ्दा म दिनको दुई घन्टा नियमित रूपमा घरमा बसेर पढ्थँे । त्यतिबेला स्कुलमा ड्रेस लगाउने चलन थिएन । अहिलको जस्तो त्यो बेला र्फम भर्दा पनि ध्यान दिइदैनथ्यो । मैले एसएलसी दिने बेलामा मेरो जन्ममिति लेख्नुपथ्र्यो । म कति सालमा जन्मेको आफैंलाई थाहा थिएन । डम्बरबहादुर सरले जे लेखे पनि हुन्छ भनेर उहाँले नै मेरो जन्म साल जे मन लाग्यो त्यही

राखिदिनुभयो । मैले अहिले पनि त्यही नै चलाएकी छु ।

सानोमा मलाई कुन विषय पढेर के हुन्छ भन्ने ज्ञान थिएन । अमरबाबु भन्ने सर हुनुहुन्थ्यो, उहाँले मलाई ज्योग्राफी पढ्नुपर्छ भन्नुहुन्थ्यो । डोमेस्टिक साइन्स, निडल वर्क, फस्र्ट एड,  लिएर पढेकी थिएँ । २०१३ सालमा फस्र्ट डिभिजनमा एसएलसी पास गरे । त्यो बेला फस्र्ट डिभिजन पास गर्नु भनेको धेरै ठूलो कुरा थियो । एसएलसी पनि पटना विश्वविद्यालय अन्तर्गत हुन्थ्यो ।

एसएलसी पास गरे पनि मैले डोमेस्टिक साइन्स पढेको हुनाले आईएस्सी पढ्न त्यति सजिलै पाइनँ । तर मैले गणित पढेको र फस्र्ट डिभिजनमा पास गरेकोले मात्र आईएस्सी पढ्न पाएँ ।

पद्मकन्या विद्याश्रममा ठूलो चौर थियो । एक घन्टाको २५ पैसा तिरेपछि साइकल सिक्न पाइन्थ्यो । म र मेरा साथीहरूले त्यही साइकल सिकेका हौं । त्यहाँ चलाउन सिकेको साइकल आएसी पढ्दा काम लाग्यो । रातोबिर्के टोपी लगाउने तत्कालीन मुक्ति सेनाका सिपाहीहरू साइकल जुधाउन आउँथे, अनि म साइकल डोर्‍याएर हिँड्थँे । सानोमा म फुर्सद भयो कि पद्मकन्याको चौरमा कपर्दी खेल्न जान्थँे । साथीहरूसँग गुच्चा पनि खेल्थेँ । पशुपतिको कैलाशमा गएर सुरेली

पनि खेल्थँे ।

त्यो बेला स-सानो पोखरी थियो । पोखरीमा सानो सानो भ्यागुताको बच्चा हुन्थ्यो । हामी तीन/चार जना मिलेर भ्यागुताको बच्चालाई समाउँथ्यौं । फुत्त उप|mन्थ्यो । खुब रमाइलो हुन्थ्यो । मेरा दिदीहरू पुतली खेल्थे । तर मलाई चाहिँ त्यसमा चाख थिएन ।

जाडो महिनामा एक दिन हिउँ परेको बेला म ठूलो मान्छेको जुत्ता लगाएर गएँ । बुबाले देख्नुभएछ । अनि उहाँले मलाई बोलाएर चिमोट्नुभयो । आमा मोही पार्दै हुनुहुन्थ्यो । उहाँले डोरी झिकेर हिर्काउनुभयो ।

तीनताका छोरीको चाडैं बिहे गर्ने चलन थियो । छोरीलाई बिहे नगरीकन किन पालिराखेकी भनेर गाउँलेले आमालाई सोध्थे । तर मेरी आमाले यस्ता कुरालाई कहिल्यै पनि वास्ता गर्नुभएन । उहाँले मलाई खुरुखुरु पढ्न दिनुभयो । तर ८ कक्षा पुगेपछि भने उहाँले अब पढ्न पुग्यो भन्नुभयो । त्यतिबेला चाहिँ मैले उहाँ कुरा सुनेको नसुन्यै गरी स्कुल गइरहेँ । त्यसैको प्रतिफल होला, अहिले म यो स्थितिमा छु ।

सानैदेखि म अरूजस्तै चाडपर्व मनाउँथे । रमाइलो पनि लाग्थ्यो । तर त्यतिबेलादेखि अहिलेसम्म मैले कहिले पनि ब्रत बसिनँ । मेरो मान्यता पहिलादेखि नै के थियो भने अरूको सेवा गर्नु नै धर्म हो । धर्म गर्नलाई कुनै मन्दिर नै जानुपर्छ भन्ने छैन । मलाई अहिले पनि यही लाग्छ ।

भाइबहिनीहरूले आफूलाई जे इच्छा छ त्यसमा हिम्मत नहारी मिहिनेत गर्नुपर्छ । त्यसो भयो भने अवश्य पनि सफल भइन्छ । जे गर्नुछ त्यसमा डटेर लाग्नुपर्छ ।



- लक्ष्मी श्रेष्ठ

प्रकाशित मिति: २०६९ श्रावण १४ ०२:१०

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-21
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै अलि उता सर्नु त ! त्याँ पोस्टर टाँस्नु पर्‍यो !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication