श्रावण १३ -
भविष्यमा के बन्छौं ? सर वा अरू कसैले गरेको प्रश्नको उत्तरमा धेरैले भन्ने गर्छन्, 'म डाक्टर बन्छु, म इन्जिनियर । म त वैज्ञानिक बन्छु । म नेता बन्छु । म हिरो/ हिरोइन । गायक/गायिका । म खेलाडी ।'
डाक्टरले बिरामीको सेवा गर्छ । इन्जिनियरले विकासको काम । वैज्ञानिकले खोज-अनुसन्धान गर्छ । असल नेताले देश राम्रो बनाउँछ । खेलाडीले चाहिँ के गर्छ ? एउटै जवाफ आउँछ, 'खेलेरै संसारमा देशको नाम उच्च बनाउँछ ।'
यस्तोमा सबैलाई खुल्दुली हुन्छ । कुन खेल खेल्यो भने देशको नाम फैलाउन सकिन्छ ? कुन प्रतियोगिताबाट देशको इज्जत बढाउन सकिन्छ ? थुप्रैले भन्लान् 'वल्र्ड कप' । जस्तो फुटबलको वल्र्ड कप वा क्रिकेटको वल्र्ड कप । वल्र्ड च्याम्पियनसिपको नाउँमा अरू खेलको पनि सबैभन्दा ठूलो प्रतियोगिता हुने गर्छ ।
धेरै खेलमा प्रतिस्पर्धा गर्ने बृहत् प्रतियोगिता पनि हुन्छ । यस्तोमा भने सबैभन्दा महत्त्वपूर्ण 'ओलम्पिक' लाई मानिन्छ । अहिले सबैतिर लन्डन ओलम्पिकको चर्चा छ । त्यही ओलम्पिक हो, संसारकै सबैभन्दा प्रतिष्ठित बृहत् खेल महोत्सव । त्यसैले संसारका सबै खेलाडी ओलम्पिकमा सहभागी हुन मरिहत्ते गर्छन् किनभने ओलम्पिकमा सहभागी हुन पाउनु पनि विशेष उपलब्धि मानिन्छ । पदक जित्नु त झन् ठूलै उपलब्धि भइहाल्यो ।
संसारको सबैभन्दा धेरै खेलाडी सहभागी हुने प्रमुख प्रतियोगिता नै ओलम्पिक हो । बेलायतको राजधानी लन्डनमा शुक्रबार सुरु भएको ओलम्पिकमा २ सय ४ देशका १० हजार ५ सय खेलाडी सहभागी छन् । उनीहरू प्रतियोगिता चलुन्जेल एकै ठाउँमा बस्छन् । त्यस्तो ठाउँलाई ओलम्पिक भिलेज भनिन्छ ।
अधिकांश खेलाडीले छनोट पार गरेर मात्र ओलम्पिक खेल्ने अवसर पाउँछन् । थोरैले मात्र 'वाइल्ड कार्ड' मार्फत् आ-आफ्ना देशको प्रतिनिधित्व गर्दै छन् । छनोटमा असफल भएका केही खेलाडीले वाइल्ड कार्ड पाएपछि ओलम्पिक खेल्न पाउँछन् । हरेक देशले यो खेल महोत्सवमा सहभागिता जनाउन सकून् भनेर 'वाइल्ड कार्ड' को व्यवस्था गरिएको हो ।
सुनको पदक
कुल २६ खेलमा ३ सय २ स्वर्ण पदकको लागि लन्डन ओलम्पिकमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक स्पर्धामा प्रथम हुनेले स्वर्ण पदक पाउँछ । फुटबलमा प्रथम हुने टिमका सबै खेलाडीले स्वर्ण पाउँछन् । तर पदक तालिकामा गणना हुँदा उसको उपलब्धि १ स्वर्ण मात्र हुन्छ । कराँते, तेक्वान्दो, पौडी, एथलेटिक्स लगायत खेलमा थुप्रै स्वर्ण हात पार्न सकिन्छ ।
लन्डन ओलम्पिकमा दिइने पदकको तौल ५ सय ५० ग्राम हुन्छ । स्वर्ण पदकमा सुनको मात्रा ६ ग्राम हुन्छ । पदकको बाहिरी भागमा सुनको लेप हुन्छ । रजत पदक चाँदीले बनेको हुन्छ । कास्य पदक तामाबाट बनाइन्छ । पदकको एकातिर गि्रक देवता र मन्दिरको आकृति कुँदिएको हुन्छ किनभने ओलम्पिक गि्रसबाट सुरु भएको हो । पदकको अर्कोतिर आयोजक स्थानको परिचय दिने आकृति बनाइएको हुन्छ ।
मुख्य आकर्षण
प्रतियोगितामा सधैं खेलाडीको चर्चा हुन्छ । यसपल्ट जमैकाका धावक युसेन बोल्ट, अमेरिकी पौडीवाज माइकल फेल्पस्, स्विट्जरल्यान्डका टेनिस खेलाडी रोजर फेडेरर, रुसका पोल्टभल्ट क्विन एलेना इसिनबयेबा चर्चामा छन् ।
छोटो दूरीका चर्चित धावक 'स्पि्रन्टर' बोल्ट सबैभन्दा छिटो दौडने धावक हुन् । उनले बेइजिङमा ३ स्वर्ण जितेका थिए । फेल्पस्ले बेइजिङमा सहभागी आठै स्पर्धामा स्वर्ण जितेका थिए । ओलम्पिकको एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमानी हुन्, उनी । टेनिसको प्रतिष्ठित प्रतियोगिता 'ग्रान्डस्लाम' सर्वाधिक १७ पल्ट जित्ने खेलाडी हुन्, फेडेरर । कीर्तिमानी एलेनेले अघिल्ला दुई ओलम्पिकमा स्वर्ण जितेकी थिइन् । उनीहरूलाई हराएर नयाँ खेलाडी पनि चर्चामा आउन सक्छन् ।
लामो इतिहास
प्राचीन कालमा गि्रसमा ओलम्पिक खेल नियमित आयोजना हुन्थ्यो । तर सीमित खेलमा प्रतिस्पर्धा हुन्थ्यो । अहिलेको ओलम्पिकलाई 'आधुनिक ओलम्पिक' भनिन्छ । जुन १८९६ मा गि्रसकै राजधानी एथेन्सबाट सुरु भएको थियो ।
त्यसपछि ४/४ वर्षमा ओलम्पिक आयोजना हँुदै आएको छ । पहिलो र दोस्रो विश्वयुद्धको बेला भने यो सञ्चालन भएन । ओलम्पिकको १ सय १६ वर्ष लामो इतिहासमा सर्वाधिक तेस्रोपल्ट प्रतियोगिता आयोजना गर्ने पहिलो सहर लन्डन हो । यसअघि उसले सन् १९०८ र १९४८ मा ओलम्पिक आयोजना गरेको थियो । ओलम्पिकको ३१औं संस्करण २०१६ मा ब्राजिलको रियो दि जेनेरियोमा हुनेछ ।
ओलम्पिक पनि चार किसिमका हुन्छन् । ग्रीष्मकालीन (समर), शीतकालीन (विन्टर), पारा (शारीरिक रूपमा पूर्ण सक्षम नभएकाहरु खेल्ने) र युथ -१४ देखि १८ वर्षकाले खेल्ने) ओलम्पिक । लन्डनमा भइरहेको चाहिँ ग्रीष्मकालीन ओलम्पिक हो । संसारमा यसैलाई सबैभन्दा भव्य मानिन्छ । चारै प्रतियोगिता इन्टरनेसनल ओलम्पिक काउन्सिल (आईओसी) ले सञ्चालन गर्छ ।
नेपालको सहभागिता
ग्रीष्मकालीन ओलम्पिकमा नेपाल सन् १९६४ बाट मात्र सहभागी हुन थालेको हो । जापानको राजधानी टोकियोमा भएको १८ औं संस्करणमा नेपालका ६ खेलाडी सहभागी थिए । भूपेन्द्र सिलवाल र गंगाबहादुर थापा म्याराथनमा दौडिए । नामसिंह थापा, भीमप्रसाद थापा, रामप्रसाद गुरुङ र ओमप्रसाद पुनले बक्सिङमा प्रतिस्पर्धा गरेका थिए ।
मेक्सिको सिटी -मेक्सिको) मा भएको १९ औं संस्करणमा नेपाल सहभागी भएन । त्यसपछिका सबै संस्करणमा नेपालले प्रतिस्पर्धा गर्दै आएको छ ।
हालसम्म पदक जित्न भने सकेको छैन । तेक्वान्दोका विधान लामाले सन् १९८८ मा सोल, दक्षिण कोरियामा कास्य जितेका थिए । तर त्यसबेला तेक्वान्दो प्रदर्शन खेलको रूपमा मात्र समावेश थियो ।
साउन २८ गतेसम्म हुने लन्डन ओलम्पिकमा ५ खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै छन् । पौडीमा प्रसिद्धजंग शाह र श्रेया धिताल, एथलेटिक्समा तिलकराम थारू र प्रमिला रिजाल तथा सुटिङमा स्नेहा राज्यलक्ष्मी राणाले ओलम्पिक खेल्दै छन् । उनीहरू सबै वाइल्ड कार्ड मार्फत सहभागी भएका हुन् । त्यसैले उनीहरूबाट पदकभन्दा राष्ट्रिय कीर्तिमानको आश गरिएको छ ।
प्रकाशित मिति: २०६९ श्रावण १४ ०१:५९
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !