Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ८, बुधवार     Login | Register
मुख्य समाचार»

कांग्रेस पनि निर्वाचनकै पक्षमा

काठमाडौ, श्रावण ५ -
 नेपाली कांग्रेस पनि संसद् निर्वाचनको पक्षमा उभिएको छ । एमालेले ताजा जनादेशको विकल्पमा जाने निर्णय लिएपछि कांग्रेस पनि निर्वाचनकै पक्षमा भएको हो । तर प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वको सरकारले गर्ने निर्वाचन भने स्वीकार नगर्ने कांग्रेसको अडान छ ।

आफ्नै केही सभासदले संविधानसभा पुनःस्थापना हुनुपर्ने 'लबिङ' थालिरहेका बेला कांग्रेसमा निर्वाचनकै विकल्प रोज्न दबाब परेको हो । सभापति सुशील कोइरालासमेत राष्ट्रिय सहमतिको नयाँ सरकार निर्माण गरेर निर्वाचनमा जानुपर्ने पक्षमा लागेका छन् ।

कोइरालाले यसअघि संविधानसभाका सबै विषयमा सहमति जुटेमा वैधानिक बाटोबाट जारी गर्न छोटो अवधिका लागि संविधानसभा ब्युँताउन सकिने बताएका थिए । तर संघीयतामा सहमति जुट्ने अवस्था नदेखिएपछि संविधानको बाँकी कामसमेत दिने गरी संसद्को निर्वाचनमा जानुपर्ने बाटो कांग्रेसले लिने भएको हो । संस्थागत निर्णय लिन कांग्रेसले चाँडै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । सभापति कोइरालासहित अधिकांश केन्द्रीय सदस्य निर्वाचनका पक्षमा बोल्न थालेपछि संविधानसभा पुनःस्थापनाको माग कमजोर हुन पुगेको छ ।

कांग्रेसका झन्डै ७० पूर्वसभासदले संविधानसभा पुनःस्थापना माग राख्दै 'लबिङ' थालेका थिए ।

 संविधानसभा पुनःस्थापनाको पक्षमा वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल छन् । देउवा र पौडेलले संविधानको नमिलेका विषयलाई राजनीतिक सहमति जुटाएर छोटो अवधिका लागि संविधानसभा पुनःस्थापना गर्दा उपयुक्त हुने विकल्प बताउँदै सुझाउँदै आएका छन् । पुनःस्थापनाको पक्षमा देउवा र पौडेल पक्षीय पूर्वसभासदहरूले सक्रियता देखाएका छन् ।

देउवाले संविधानसभाको अवसानपछि उत्पन्न संवैधानिक र राजनीतिक संकट निवारणका लागि तीन विकल्प ल्याएका थिए । संविधानसभाको पुनःस्थापना, संविधान मस्यौदा आयोगद्वारा संविधान निर्माण गरी जनमतसंग्रहबाट अनुमोदन गराउने र निर्वाचनमा

जाने । यी तीन विकल्पमध्येमा उनले संविधानसभा पुनःस्थापनाको मागलाई प्राथमिकतामा राखेका थिए । त्यसमा पौडेलको समर्थन छ । त्यसैको आधारमा टेकेर पूर्वसभासदले हस्ताक्षर अभियान सुरु थालेका हुन् ।

'संविधानसभाको पुनःस्थापनाको पक्षमा जानु भनेको आत्महत्या गर्नु हो,' कांग्रेसका एक नेताले भने, 'संसद् पुनःस्थापना भएमा पौडेललाई संसदीय दलको नेता र्फकन्छ र प्रधानमन्त्री हुन सकिन्छ भन्ने दाउ छ भने देउवाले पनि माओवादीबाट त्यस्तै आश्वासन पाएका छन् तर यो सम्भव छैन ।'

'संविधानसभा पुनःस्थापना गर्दा पुनः जातीय र क्षेत्रीय राज्यको 'पेण्डुराज' बक्स खुल्छ । जनमत यसको पक्षमा छैन । अर्को टुटेको माओवादी र फुटेको मधेसी दललाई जुटाउन सहयोगी बन्ने काम हुन्छ । किनकि संविधानसभा पुनःस्थापना भएपछि दलबदल कानुन आकषिर्त हुन्छ,' ती नेताको भनाइ थियो, 'यो मूर्खता र आत्महत्याको बाटो कांग्रेसले रोज्न सक्दैन । अहिले पनि जातीय राज्यको समस्या जस्ताको तस्तै छ । यसकारण पनि संविधानसभा पुनःस्थापना सम्भव छैन ।'

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेस निर्वाचनकै पोजिसनमा रहेको बताए । उनले संविधानसभा पुनःस्थापनाको माग जनादेशविपरीत समेत हुने भन्दै पार्टीले त्यसको पक्ष लिन नसक्ने बताए । 'दुई वर्षको अवधिका निम्ति चार वर्ष थप गरिसकेको अवस्था र अदालतले म्याद थप गर्न हुन्न भन्ने निर्देशानात्मक आदेश दिइसकेको अवस्थामा संविधानसभाको म्याद थप गर्न हुन्न भनेर कांग्रेसले अडान लिएको हो । त्यसैलाई केन्द्रीय समितिले अनुमोदन गर्‍यो र सरकारमा गएका मन्त्रीहरू फिर्ता भएका हुन् । यसले पनि कांग्रेस निर्वाचनको पक्षमा छ भन्ने स्पष्ट छ,' केसीले भने, 'संविधानसभाको पुनःस्थापनामा जानु भनेको अदालतको निर्णय र जनादेश विपरीतसमेत हुन्छ ।'

 केन्द्रीय सदस्य एनपी सावदले संविधानसभा पुनःस्थापना गरेमा राजसंस्थाको पुनर्बहालीका लागि समेत बल पुग्ने बताउँदै त्यस दिशामा पार्टी जान नसक्ने बताए । 'पुनःस्थापनाको माग भनेको म्याद समाप्त भएको औषधि हो, अर्कोतिर संविधानसभाको अन्तरवस्तुमा पनि सहमति हुन सक्ने स्थिति देखिएको छैन, खालि पुनःस्थापनाको कुरा मात्रै भनिएको छ,' उनले भन ।

केन्द्रीय सदस्य दीपक गिरीले केन्द्रीय कार्यसमितिमा एक/दुई जनाबाहेक संविधानसभा पुनःस्थापनाको मागमा कोही पनि नरहेको दाबी गरे । उनले भने, 'अहिलेसम्म यो छलफलको एजेन्डासमेत बनेको छैन । दुई वर्ष कार्यकालले नपुगेर चार वर्ष बनाउँदासमेत संविधान बनाउन नसक्ने सभालाई ब्युँताएर लोकतान्त्रिक प्रक्रियाको उपहास गर्न हुँदैन ।'

त्यसो भए संविधान कुन प्रक्रियाबाट जारी गर्ने त ? केसीले अबको निर्वाचन संसदको हुनुपर्ने र त्यसैले संविधानको काम समेत गर्ने पाउने साउथ अफि्रकन मोडल पार्टीले अपनाउन सक्ने बताए । 'सहमति भएका बिषयलाई लिपीबद्ध गर्ने र बाकी बिषयमा संसदले टुंगाउने साउथ अफि्रकन मोडलमा जानुपर्छ' उनको भनाई थियो । निर्वाचनमा जाने भनिए पनि प्रधानमन्त्री बाबुराम भट्टराकै नेतृत्वको सरकारले गर्ने निर्वाचन भने स्विकार नगर्ने कांग्रेसको अडान छ ।

प्रकाशित मिति: २०६९ श्रावण ६ ०९:१९

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-22
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै अलि उता सर्नु त ! त्याँ पोस्टर टाँस्नु पर्‍यो !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication